काठमाडौँ ।अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) मा प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई पनि साथमा लिएर पास गराउने योजना सत्तामा रहेका दलहरुले बनाएका छन् । यद्यपि एमालेले पहिला सत्तापक्षको योजना हेरेर मात्र यसबारे निर्णय लिने बताएको छ । यद्यपि आफू प्रधानमन्त्री भएको बेला केपी ओलीले सरकारको तर्फबाट एमसीसी सदनमा पेश गरेका थिए । सभामुखको कारण त्यसलाई अगाडि बढ्नबाट रोकिएको थियो ।
अहिले एमालेले आफू प्रतिपक्षमा भएको र सरकारसँग सुविधाजनक बहुमत भएको कारण आफूले यसबारे अहिले नै गर्ने निर्णय कच्चा हुने भन्दै पहिला सरकारको नेतृत्व गर्ने दलहरुको ‘पोजिसन’ स्पष्ट हुन चाहेको छ । अहिले सत्ता रहेको नेकपा माओवादी केन्द्र र सरकारको समर्थक नेकपा एकीकृत समाजवादी भने यो विवादमा आफूहरु मात्र नभई एमालेलाई पनि ल्याउनुपर्ने पक्षमा छन् ।
आफूहरुले मात्र पास गर्न सक्ने अवस्था भए पनि यसमा एमालेलाई समावेश गर्न सकिएमा जनताले विरोध गरे पनि यो विषयलाई एमालेतिर पनि देखाउन सकिने माओवादी अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपालको बुझाइ छ । तर, ओली भने सत्ता गठबन्धनबाट मात्र यो पास होस् भन्ने पक्षमा छन् । यदि सत्ता गठबन्धनले पास नगरेमा यो सरकार टुटाएर नयाँ गठबन्धनको पक्षमा ओली छन् । अहिलेको सत्ता गठबन्धन टुटेमा एमाले र नेपाली कांग्रेसको मात्र बहुमत पुग्छ र नयाँ सरकार गठन हुनसक्छ । ओली भने यही गठबन्धन तोडेर नयाँ निर्वाचनमा जाने पक्षमा छन् ।
नेपालका राजनीतिक दलहरुमा सत्ता टिकाउने, फुटाउने वा निर्वाचनमा जानेसम्मका खेल एमसीसीले गराएको छ । दलहरुबीच विवाद भएको बेला अर्थ मन्त्रालयले एमसीसीको बारेमा सोधेको प्रश्नको बुधबार अमेरिकाले जवाफ दिँदै एमसीसी सम्झौता संशोधन नहुने र यो नेपालको संविधानभन्दा माथि नरहेको जनाउँदै नेपालको कानुनअनुसार कार्यान्वयन र सम्पन्न हुने जनाएको छ । एमसीसी संशोधन नहुने भएपछि सत्ताका सहयात्री र सरकारमा जान खुट्टा उचालेर बसेको समाजवादीलाई नैतिक संकट परेको छ । उनीहरु एमालेको नेतृत्व एमसीसीमा सकारात्मक रहेको कारण एमालेको सहयोगमा पास गरेर आफूहरुको सहभागिताको सरकारले कार्यान्वयन गर्ने पक्षमा छन् । तर, एमाले भने आफूहरुले एमसीसी पास गरिदिएर माओवादी र समाजवादीलाई सत्तामा सहभागी हुन दिने पक्षमा छैन । एमालेले यी दुई दललाई हटाएमा आफूले साथ दिएर एमसीसी पास गरिदिने जानकारी प्रधानमन्त्री देउवालाई दिइसकेको स्रोतको दाबी छ ।
दलहरुबीच विवाद भइरहेको बेला एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेपाल आएकी छिन् । उनले आज शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको साथै सत्तारुढ दलहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उपाध्यक्ष फातिमाले एमाले अध्यक्ष ओलीलाई बिहीबार नै भेटिन् । तर, एमाले अध्यक्ष अोलीले एमसीसी पास गर्न वर्तमान सरकारसँग बहुमत रहेको कारण यस बारेमा आफूहरुको धारणा अहिले नै नमाग्न सुमारको टोलीलाई आग्रह गरेका छन् ।
फतिमाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोटमा गएर भेट गरेकी थिइन् । सो भेटमा अमेरिकी अनुदान सम्झौता एमसीसीका बारेमा छलफल भएको थियो । सो भेटमा उपाध्यक्ष सुमारले एमसीसी अनुमोदनको प्रक्रिया अघि बढाउनुपर्छ भन्नेमा अमेरिकी सरकार रहेकाले यसका लागि सघाउन आग्रह गरेकी थिइन् । बालकोट भेटमा उपाध्यक्ष सुमारसँगै एमसीसीका प्रतिनिधि सहभागी थिए । त्यसैगरी एमालेका तर्फबाट विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल, सूर्य थापालगायत सहभागी थिए । तर, भेटमा ओलीले आफ्नो दलका अहिलेको पोजिसन क्लियर गरेनन् र यो सबै हात सत्तामा रहेका दलहरुमा रहेको भन्दै आफ्नो दलको समर्थन वा विरोध के रहने केही बताएनन् ।
यसैबीच, काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार विज्ञप्ति जारी गरी एमसीसी उपाध्यक्ष फतिमा सुमार मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा सैन्य अंश नभएको प्रस्ट्याउन नेपाल भ्रमणमा आएको बताएको छ ।नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने ५५ अर्ब रुपैयाँको उक्त कार्यक्रमलाई गतिदिन चाल्नुपर्ने भावी कदमबारे विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग छलफल गर्न नेपाल आएको पनि जनाएको छ ।
उपाध्यक्ष सुमारले एमसिसी अनुदानमा सैनिक अंश नरहेको तथा सम्झौताले नेपालको सार्वभौमिकतामा अवरोध नगर्ने र नेपालको संविधानभन्दा माथि सम्झौता नरहेको वास्तविकतालाई विशेषरूपमा सुनिश्चित एवं पुष्टि गर्ने जनाइएको छ । पाँच वर्षअघि एमसीसीसम्बन्धी सम्झौता वार्ता र त्यसमा हस्ताक्षर हुनुअघि नेपालले भरपर्दो विद्युत् तथा सबै नेपालीका लागि कम ऊर्जा र यातायात लागतयुक्त पाँचवर्षे अनुदान कार्यक्रम तर्जुमा गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका सम्बन्धमा उठेका नकारात्मक विषयमा नेपाली जनताले थाहा पाउने गरी स्पष्ट पार्न आग्रह गरेका छन् । एमसीसीका सम्बन्धमा अनेकौँ कोणबाट टीकाटिप्पणी भएको र राष्ट्रको हितमा नरहेको भन्ने सन्दर्भमा कुरा उठिरहेकाले थप स्पष्ट पार्न आग्रह गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसँग शिष्टाचार भेटका लागि गएकी एमसीसीका उपाध्यक्ष फतिमा सुमारलाई उनले राष्ट्रहितको विषयलाई केन्द्रमा राखेर नै आफ्नो पार्टीले उपयुक्त निर्णय गर्ने बताएका थिए ।