काठमाडौं । विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले हाल जारी कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने स्वास्थ्य आपतकालका लागि तयारी गर्नका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्ने बताएका छन् ।
आपतकालीन जोखिम व्यवस्थापनको सबलीकरण सन् २०१४ देखि विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रको लागि सबैभन्दा उच्च प्राथमिकताको कार्यक्रमको रूपमा रहँदै आएको छ । यस क्षेत्रका ६ वटा देशहरूलाई प्रभावित बनाएको महाप्रकोप, सन् २००४ मा हिन्द महासागरमा आएको सुनामीपश्चात् यस क्षेत्रले प्रतिकार्यको क्षमता निरन्तर रूपमा वृद्धि गर्दै आएको छ ।
कोभिड–१९ महामारी सुरु हुनुभन्दा केही महिना पहिले मात्र, यस क्षेत्रका सदस्य राष्ट्रहरूले ‘दिल्ली घोषणापत्र’ अनुमोदन गरेका थिए जसको उद्देश्य जोखिमको लेखाजोखालाई विस्तार गरेर, लगानी अभिवृद्धि गरेर र बहुक्षेत्रीय योजनाहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाएर आपतकालीन तयारी क्षमतालाई थप सुदृढ बनाउने थियो ।
विगतका वर्षहरूमा सदस्य राष्ट्रहरूले स्वास्थ्य आपतकाल तयारी तथा प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली (२००५)को कार्यान्वयनमा पनि उल्लेखनीय प्रगति गरेका थिए । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले कोभिड–१९ महामारीले अभूतपूर्व चुनौतीहरू ल्याएको बताइन् । उनका अनुसार विश्वको कुनै पनि देश यस स्तरको आपतकालको सामना गर्नका लागि पर्याप्त मात्रामा तयार थिएन । स्वास्थ्य सुरक्षा प्रणालीहरू सबलीकरण गर्ने प्रयत्नहरूमा हाल जारी महामारीबाट सिकेका पाठहरूको उपयोग गर्नु अत्यन्त महत्वपूर्ण रहेको उनले बताइन् ।
विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय समितिको ७४औँ बैठकमा उनले राष्ट्रहरूले संक्रमणको फैलावट रोक्न र जीवन बचाउनका लागि विद्यमान प्रमुख क्षमताहरूको पूर्ण उपयोग गरेको समेत बताइन् । साथै उनले स्वास्थ्य सुरक्षा प्रणाली र प्रबन्धहरूमा भएका गम्भीर कमीकमजोरी तथा अन्तरहरूलाई सम्बोधन गर्न जरुरी रहेको पनि बताइन् । सदस्य राष्ट्रहरूले आपतकालीन शासन संरचना तथा जनशक्ति, निगरानी तथा चेतावनी संयन्त्र, प्रयोगशाला, आपूर्ति व्यवस्थापन प्रणाली, स्वास्थ्य स्याहार प्रणालीको तत्परता तथा जोखिम सञ्चार तथा सामुदायिक संलग्नतालगायतका तयारी प्रक्रियाका विभिन्न पक्षहरूको समीक्षा तथा सुधारका बारेमा पनि छलफल गरेका छन् ।
हाल जारी प्रतिकार्यले गम्भीर स्वास्थ्य आपतकालको लागि तयारी गर्न र प्रतिकार्य गर्नका लागि सर्वोच्च स्तरको राजनीतिक नेतृत्व तथा संलग्नता र कार्यान्वयनका लागि बहुक्षेत्रीय प्रबन्धहरू अत्यन्त महत्वपूर्ण हुने कुरा देखाएको छ । यस महामारीबाट सिकिएको अर्को महत्वपूर्ण पाठ भनेको राष्ट्रहरूले निगरानी तथा सम्पर्कमा आएका व्यक्तिको खोजी कार्यदेखि लिएर क्लिनिकल व्यवस्थापन, प्रयोगशाला परीक्षण, खोप कार्यक्रम, तथा सामुदायिक संलग्नतालगायतका प्रतिकार्यका विभिन्न पक्षहरूको आकस्मिक रूपमा असामान्य स्तरमा क्षमता विस्तार गर्नुपर्ने आवश्यकताका लागि पनि योजना बनाउन जरुरी रहेको सदस्य राष्ट्रहरूले बताएका छन् ।
डा. खेत्रपाल सिंहले स्वास्थ्य सुरक्षाका लागि राष्ट्रिय कार्ययोजनाहरू तर्जुमा र कार्यान्वयन गरेर र तिनलाई स्वास्थ्य प्रणाली सबलीकरणका प्रयासहरूसँग जोडेर राष्ट्रहरूले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली (२००५) अन्तर्गत आवश्यक पर्ने मुख्य क्षमताहरू निर्माण गर्ने, तिनलाई सुदृढ बनाउने र कायम राख्ने कार्य गर्नु जरुरी रहेको बताइन् ।