विराटनगर । उद्योग संगठन मोरङले केही दिनदेखि उद्योग व्यवसाय क्षेत्रमा नियमित विद्युत् आपूर्तिमा भइरहेको समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ । नेपाल विद्युत् प्राधिकरण प्रदेश नं. १ ले आयोजना गरेको छलफल कार्यक्रममा उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले केही दिनदेखि उद्योग प्रतिष्ठानहरूमा विद्युत्को अनिमित आपूर्तिले उद्योग प्रतिष्ठानहरूको उत्पादन लागतमा वृद्धि भएको, उत्पादित वस्तुको गुणस्तरमा ह्रास आएको, मिल मेसिनेरीहरूमा बारम्बार समस्या आई सञ्चालन खर्च वृद्धि हुनुका साथै प्रतिस्पर्धात्मक क्षमता नै अवरोध भएको हुँदा अविलमब सुधार गर्न माग गरेका हुन् ।
पछिल्लो समय सानो झरी, वर्षा, हावामा समेत संरचना भत्कन गई अत्यधिक पावर कट तथा ट्रिपिङ भइदिनाले मेसिन औजार बिग्रिने र उत्पादन प्रक्रिया रोकिनुका साथै जेनेरेटरमा भरपर्नुपर्दा उत्पादन लागत बढ्न गइरहेको तर्फ प्राधिकरणको ध्यानाकर्षण गराइएको थियो । विशेषगरी सुनसरी मोरङ औद्योगिक करिडोरको कटहरी क्षेत्रका उद्योग प्रतिष्ठानहरूमा विद्युत्को संचरनागत सुधारको अभावले बढी प्रताडित भएको गुनासो उद्योगी तथा व्यवसायीको थियो ।
एक उद्योगीले दिएको जानकारीअनुसार कुनै उद्योगले बोइलर प्लान्टबाट उत्पादन गरेको विद्युत् उद्योगमा खपत हुन नसकेको अवस्थामा विद्युत् प्राधिकरणको प्रशारण लाइनमा पठाई बिक्री गर्ने व्यवस्था लागू हुन नसक्दा बोइलर प्लान्ट सञ्चालनको खर्च वृद्धि हुनुका साथै विद्युत् समेत खेर गइरहेको छ । विद्युत् मिटर रिडिङको क्रममा प्राधिकरणका कर्मचारीबाट बिलिङमा त्रुटि भई छुट भएको युनिटलाई पुनः बिलिङ गर्न पाउने व्यवस्था रहेको भए पनि उक्त छुट भएकोे युनिटलाई कहिलेसम्म बिलिङ गर्न पाउने भन्ने स्पष्टता नहुँदा बढी उपभोक्ता मारमा परेको कुरा कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रत्येक महिना मिटर रिडिङ भएको सात दिनभित्र बिलको रकम बैंकमार्फत जम्मा गरी भौचर प्राधिकरणमा पेस गर्नुपर्दछ । बैंकले सो चेक उक्त दिन नै क्लियरिङ नगरेमा वा उक्त दिन शुक्रबार अथवा सार्वजनिक बिदा परी बैंकले क्लियरिङ गरी प्राधिकरणको खातामा रकम जम्मा नगर्दासम्म शुल्क तिरेको नमानी रिवेट नदिने भएकाले बैंकमा भौचर दाखिला गरेको मितिलाई नै उपभोक्ताले भुक्तानी गरेको मिति मान्ने व्यवस्था अविलम्ब कार्यान्वयन गर्न पनि उद्योगीको माग रहेको थियो । विद्युत्को टीओडी मिटरअन्तर्गत विद्युत् महसुल चार्ज गर्दा पुस, माघ, फाल्गुण र चैत महिनामा टी ३ को मूल्यलाई टी २ को सरह नै लिइने गरेको हुँदा विगत ५–७ वर्षअघि चर्को लोडिसेडिङ हुँदा गरिएको यस्तो व्यवस्था अब बिजुली बिक्री गर्ने अवस्थासम्म कायमै हुनु न्यायसंगत नदेखिएकाले टी ३ को महसुल वर्षभरि समान हुनुपर्ने माग उद्योगीको छ ।