काठमाडौं । साधना लघुुवित्त वित्तीय संस्थाले २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको यही भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाले गत आर्थिक वर्षमा आर्जन गरेको खुद मुनाफामध्येबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
संस्थाले आर्थिक बर्ष २०७७–०७८ को चौथो त्रैमासिक अवधिमा ११ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ९५ लाख १३ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २५ करोड ६९ लाख ८० हजार रुपैयाँ रहेको संस्थाले आर्थिक बर्ष २०७७–०७८ मा ८३ करोड ५२ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २६ करोड ४९ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड २६ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ७४ लाख ११ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात दुई दशमलव शून्य दुई प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ४५ करोड ५३ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७० करोड ८४ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड तीन लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ६२ लाख ५७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ८१ प्रतिशत रहेको थियो ।