काठमाडौं । नबिल बैंकले युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, पञ्चेश्वोर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ ।
समझदारीअन्तर्गत सुुदूरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानीय युवाहरूलाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पु¥याई देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सिर्जनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ ।
नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा, राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुंगाना रपञ्चेस्वर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले समझदारीपत्रमा हस्ताक्षर गरेका हुुन् ।
सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गरी बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ । बैंकले आर्थिक २०७७–०७८ मा चार अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले तीन अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको बंैकले आव २०७७–०७८ मा दुुई खर्ब २३ अर्ब ४७ करोड ८० लाख ८७ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ९८ अर्ब १० करोड ७३ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ७९ प्रतिशत स्प्रेड दर रहेको बैंककोे वितरणयोग्य नाफा भने चार अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब ९० अर्ब ८० करोड ६४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब पाँच करोड ४० लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ९८ करोड ३६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा बैंकको स्प्रेड दर भने तीन दशमलव ७३ प्रतिशत रहेको थियो ।