काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरूले ग्रोडेलीमा विशेष छुट पाउने भएका छन् । बैंक र ग्रोडेलीबीच सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएपछि ग्राहकहरूले यस्तो छुट पाउने भएका हुन् । नेपालमा उत्पादित किराना सामग्रीहरूको प्रवर्द्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्यपछि सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले ग्रोडेलीमार्फत अनलाइन अर्डर गरी क्यूआरमार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नेछन् । हालसम्म सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङमा दर्ता नभएका ग्राहकहरूको लागि समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्डको लागि आवेदन र मुद्दती खाताको आवेदन दिनसक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले दिएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८३ वटा शाखा, एक सय १७ वटा एटीएम र एक सय ११ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । व्यावसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यावसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनीकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरूका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै प्रतिशत आएको जनाएको छ । बैंकले आर्थिक बर्ष २०७७–०७८ मा एक अर्ब ५९ करोड ८७ लाख ९३ हजार चार सय ६५ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब १९ करोड ८५ लाख चार हजार छ सय ५९ रुपैयाँ खुद मुनाफा कमाएको थियो । चुक्ता पुँजी १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार एक सय १५ रुपैयाँ रहेको बैंकले आर्थिक वर्ष २०७७–०७८ मा एक खर्ब ४० अर्ब ६३ करोड ८४ लाख ११ हजार चार सय ८४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १८ अर्ब ५७ करोड आठ लाख ७७ हजार छ सय ८३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ६० करोड ८१ लाख ४९ हजार नौ सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ५९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ५७ करोड ८५ लाख ५० हजार दुई सय चार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले ८८ अर्ब ९९ करोड ६२ लाख २८ हजार चार सय ६४ रुपैयाँ निक्षे।प संकलन गरी ७८ अर्ब ९७ करोड ६३ लाख ९५ हजार दुई सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ८८ करोड ४७ लाख ५३ हजार छ सय १७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।