पर्सा । महिला तथा युवतीहरुलाई आत्मनिर्भर बनाई आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले हिन्दू स्वयंसेवक संघ, सेवा इन्टरनेशनल नेपालले बाराको विश्रामपुर र फेटा गाउँपालिकामा तीन महिने निःशुल्क रुपमा सिलाइ तथा कटाइ प्रशिक्षण सुरु गरिएको छ ।
विश्रामपुर गाउँपालिका वडा नम्बर १ कल्याणपुर र फेटा गाउँपालिका ४ बातरामा छुट्टाछुट्टै रुपमा शुक्रबारदेखि सुरु गरिएको तीन महिने सिलाइ तथा कटाइ प्रशिक्षण कार्यक्रमको उदघाट्न संघका विभाग सञ्चालक अशोक वैद्य र उद्योगपति एवं समाजसेवी निखिल चाचानले गरेका थिए । कार्यक्रममा वैद्यले आफूलाई सबल बनाउन सीप सिक्न आवश्यकता रहेको औँल्याए । उनले भने, ‘सीप नभएका कारण दैनिकी जीवन घर गृहस्थीमै बिताइरहनुपरेको छ, जसले गर्दा घरजीवन पनि धाउन कठिनाइ भोग्नुपरेको छ ।’
कार्यक्रममा उद्योगपति एवं समाजसेवी निखिल चाचानले आफूलाई आर्थिक रुपमा सबल बनाई समाज परिवर्तनमा योगदान पु¥याउन सहभागी प्रशिक्षण कार्यक्रमका महिला तथा युवतीहरुलाई आग्रह गरे । उनले शिक्षाले मात्र अगाडि बढ्न सकिँदैन यसको साथसाथ व्यावहारिक रुपमा सीपको पनि आवश्यक रहेको बताए । ‘जबसम्म महिला अगाडि बढ्दैन तबसम्म समाज पनि अगाडि बढ्न सक्दैन’, उद्योगी चाचानले भने, ‘सीप सिकेपछि आत्मनिर्भर बनाउन सक्षम बनाउन, सक्षम बनिसकेपछि अगामी पिँढीको लागि फलदायी हुनेछ ।’
प्रशिक्षण कार्यक्रममा सिलाइ प्रशिक्षक अन्तिमा कुमारी बैठाले महिला तथा युवतीहरुलाई आत्मनिर्भर बन्ने दृढता हुँदाहुँदै पनि आर्थिक अभावले गर्दा अगाडि बढ्न नसकेको बताइन् । उनले हिन्दू स्वयंसेवक संघको सहयोगमा सुरु गरिएको तीन महिने सिलाइ तथा कटाइ प्रशिक्षणले सीप हासिल गरिसकेपछि महिलालाई आत्मनिर्भर बनाउन ठूलो योगदान पुग्ने बताइन् । करिब ६० जना प्रशिक्षार्थीहरुको लागि हिन्दू स्वयंसेवक संघले चार जना प्रशिक्षकसहित सिलाइ मेसिन, त्यसका आवश्यक उपकरण उपलब्ध गराएको छ । तीन महिने प्रशिक्षणमा उत्कृष्ट हुने परीक्षार्थीलाई निःशुल्क रुपमा सिलाइ मेसिन समेत उपलब्ध गराउने संघले घोषणा गरेको छ ।