नयाँ दिल्ली, माघ १३
भारतले ५० भन्दा बढी वस्तुको आयात शुल्क बढाउने तयारी गरेको छ । ती वस्तुहरुमा विद्युतीय सामान, केमिकल र हस्तकलाका वस्तुहरु पर्ने रोयटर्सले जनाएको छ । समाचारअनुसार ५६ अर्ब डलर मूल्यका चिनियाँ र अन्य देशका सामानमा यस्तो शुल्क वृद्धिको तयारी गरिएको छ । वित्तमन्त्री निर्मला सीतारमणले वार्षिक बजेट फेब्रुअरी १ मा सार्वजनिक गरेपछि यस्तो कदम चालिनलागेको हो ।
आर्थिक वृद्धिदरलाई लयमा ल्याउन भारतले यस्तो कदम चाल्ने बताइएको छ । नयाँ शुल्क विशेषगरी मोबाइल चार्जर, औद्योगिक केमिकल, बत्तीहरु, फर्निचर, मैन, गरगहना र हस्तकलामा लागू हुनेछन् । यसको मारमा चार्जर आयात गर्ने स्मार्टफोन निर्माताहरु पर्न सक्नेछन् । त्यस्ता वस्तुमा ५ देखि १० प्रतिशतसम्म आयात शुल्क बढ्ने बताइएको छ । अर्थ मन्त्रालयले यस्तो प्रस्ताव गरेको सरकारी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
अनावश्यक सामग्री आयात घटाउन यस्तो कदम चालिनलागेको हो । यसबारे भारतले औपचारिक धारणा सार्वजनिक गरेको भने छैन । सन् २०१४ मा सरकार सम्हालेयता प्रधानमन्त्री नरेन्द्र मोदीले आयातमा कडाइ गर्नुका साथै उत्पादन, रक्षा र अन्य क्षेत्रमा विदेशी लगानी भित्र्याइरहेका छन् । गत जुलाईमा पनि भारतले ७५ वस्तुमा आयात कर बढाएको थियो । जसमा सुन र अटोमोबाइल पार्टहरु समावेश थिए ।
भारतको आयात निर्यातभन्दा द्रुतगतिमा भइरहे पनि अप्रिल डिसेम्बर अवधिमा ८.९० प्रतिशतले घटेको छ । निर्यात पनि उक्त अवधिमा २ प्रतिशतले घटेको छ । यसले मोदी सरकारलाई १ खर्ब १८ अर्ब डलरमा व्यापारघाटा झार्न सहयोग पुगेको छ । १ वर्षअघि भारतको व्यापारघाटा १ खर्ब ४८ अर्ब डलर रहेको थियो ।