काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार काठमाडौं महानगरपालिका–२९ बस्ने ३६ वर्षीय बिनम श्रेष्ठ र काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भएका ४८ वर्षीय प्रकाश श्रेष्ठलाई मंगलबार बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको हो ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले बिनमलाई काठमाडौं असनमा र प्रकाशलाई रुपन्देहीमा फेला पारी पक्राउ गरेको प्रवक्ता महतोले जानकारी दिएका छन् । उक्त मुद्दामा बिनमलाई अदालतबाट सात दिन कैद र १७ लाख ६५ हजार रुपैयाँ जरिवाना र प्रकाशलाई पाँच दिन कैद र ११ लाख ५० हजार जरिवाना तोकिएकोमा उनीहरू फरार रहेका थिए । उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितहरूलाई झुक्यानमा पारी बैंक अफ काठमाडौं र सिद्धार्थ बैकको चेक दिई बैंकिङ कसुर गरेका थिए । दुवै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रवक्ता महतोको भनाइ छ ।