विराटनगर । खानेतेलमा भएको मूल्यवृद्धि सम्बन्धमा वाणिज्य आपूूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट पटक–पटक तेल उत्पादक कम्पनीसँग स्पष्टीकरण सोध्ने कार्य भएको भन्दै नेपाल बनस्पति घ्यू तेल उत्पादक संघले आपत्ति जनाएको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै कुनै पनि उद्योगले घ्यू तेलको मूल्य वृद्धि नगरेको जनाएको छ । संघमा आबद्ध २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगले नियमित रुपमा आफना उत्पादनहरू स्थानीय बजारमा सहज र सरल रुपमा पठाउँदा पठाउँदै पनि मूल्य वृद्धिका नाममा अनेकन बहाना बनाएर उद्योगीलाई मानसिक रुपमा निरुत्साहित बनाउन लागि परेको संघको आरोप छ । उद्योगलाई चाहिने कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफलावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया र युक्रेनलगायतका देशबाट आयात गरी अन्तर्राष्ट्रिय बजार व्यापारअनुरुप नै नेपालको बजारमा समेत मूल्य निर्धारण हुने संघले दाबी गरेको छ ।
कोभिड १९ को महामारीका कारण र क्रुड तेल उत्पादन हुने देशमा भीषण सुक्खा भएको भन्दै खाने तेलको मूल्यमा अस्वाभाविक मूल्य वृद्धि हुनपुगेको घ्यू तेल उत्पादक संघको भनाइ छ । संघले अन्तर्राष्ट्रिय बजारमा एक्कासि मूल्य घट्दा स्थानीय उद्योगीहरू पनि उच्च मूल्यमा आयात भएको कच्चा पदार्थ हुँदा पनि मूल्य घटाएको भन्दै उक्त कुराको ख्याल नै नगरी पछिल्लो समय वाणिज्य आपूर्ति तथा उपभोक्ता संमरक्षणबाट घ्यू तेल उत्पादक कम्पनीमाथि हतोत्साहित हुनेगरी पटक–पटक स्पष्टीकरण सोधेर उद्योगीलाई निरुत्साहित बनाउन थालेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।