नयाँ दिल्ली । भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या छ महिना पछिकै सवैभन्दा कम भएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख एक हजार नौ सय ८९ पुगेको छ । यो संख्या एक सय ८६ दिनपछिकै सवैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा सक्रिय संक्रमितहरुको संख्या पछिल्लो समय लगातार घट्दै गएको छ । दैनिक नयाँ संक्रमितभन्दा दैनिक संक्रमणमुक्त भएकाहरुको संख्या बढी हुदै गएकाले सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको हो । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार नौ सय ६४ जना नयाँ संक्रमितहरु थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
सोही अवधिमा ३४ हजार एक सय ६७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको देखिएको अधिकारीहरुले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल तीन करोड २७ लाख ८३ हजार सात सय ४१ जना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख ४५ हजार सात सय ६८ जनाको मृत्यु भएको छ । तीमध्ये तीन सय ८३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ ।