काठमाडौं । होटल डेला अन्नपूर्णका तीनवटा मजदुर युनियनका अध्यक्षहरुले यथाशीघ्र होटल सञ्चालन गर्न माग गरेको पर्सिपल्ट होटल रेखदेख गर्न खटाइएकी कार्यकारी निर्देशक सृजना राणा लुसुक्क दिल्लीतिर लागेकी छिन् र मजदुरका मागलाई हावामा उडाउने प्रयास गरेकी छिन् ।
होटल डेला अन्नपूर्णको नेपाल स्वतन्त्र होटल मजदुर युनियनका अध्यक्ष तीर्थ सुवेदी, नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका अध्यक्ष हिरामणि गुरुङ र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघका अध्यक्ष प्रकाश न्यौपानेले गत ८ गते एक संयुक्त चारबुँदे मागपत्र सार्वजनिक गरेका थिए । उनीहरुले शीघ्रातिशीघ्र होटल खोल्नुपर्ने, सरकाले निर्धारण गरेको न्यूनतम तलब तथा सेवा सुविधा तत्काल उपलब्ध गराउनुपर्ने, युनियनका नेताहरुलाई अनावश्यक डर, त्रास र धम्की दिने कार्य तुरुन्त बन्द गर्नुपर्ने र होटलले गर्ने कुनै पनि निर्णयमा प्रतिष्ठित मजदुर युनियनहरुलाई सहभागी गराउनुपर्ने माग राखेका थिए ।
मजदुर नेताहरुले उक्त संयुक्त माग गर्नुअघि नै होटल कुरुवाको रुपमा रहेकी राणाले होटलका पुराना स्थायी कर्मचारीहरुलाई स्वैच्छिक अवकाश लिन सूचना जारी गरेकी थिइन् र उक्त योजनाअनुसार उनले प्रतिमजदुर एक लाख ६० हजार रुपैयाँ दिएर होटलबाट हटाउन खोजेको बुझिएको छ ।
कोरोनाले सताएर आर्थिक रुपमा समस्याग्रस्त बनेका मजदुरलाई प्रमुख चाड दशैँको मुखमा दशैँ खर्च पनि नपुग्ने रकमको प्रलोभन दिएर जागिरबाट हटाउन खोजेपछि तीन मजदुर अध्यक्षले त्यसका विरुद्ध संयुक्त मागपत्र सार्वजनिक गरे पनि त्यसलाई बेवास्ता गर्दै सृजना राणा लुसुक्क दिल्लतिर लागेकी हुन् । होटल संघकी अध्यक्ष समेत रहेकी राणाले यसरी मजदुरको चाड नै बिगारेर यताउता लागेपछि अरु होटलमा पनि त्यही रोग सर्ने डर भए पनि सरकारचाहिँ कानमा तेल हालेर बसेको छ ।