काठमाडौं । युवा उद्यमीहरुको संस्था एनवाईईएफले आफ्नो १८औँ वार्षिकोत्सव आइतबार एक कार्यक्रमको आयोजना गरी मनाएको छ । यो संस्था सानो संगठनको रुपमा विकसित हुँदै देशभरका युवा उद्यमीहरु संगठित भई हाल सातै प्रदेशमा यसको च्याप्टरहरु रहेको छ । सन् २००३ देखि युवा उद्यमीहरुलाई सहयोग र उनीहरुको व्यवसायलाई प्रवर्द्धन गर्दै युवाहरुबीच अनुभवको आदानप्रदान, तालिम, बहस तथा अन्तर्क्रियाजस्ता कार्यक्रमहरुमा यो संस्था क्रियाशील छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष उदीप श्रेष्ठले एनवाईईएफको इतिहासमा संस्थाको प्रगतिको लागि महत्वपूर्ण पाइला चाल्दै आएको बताए । त्यसैगरी उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले एनवाईएफका पदाधिकारी तथा सदस्यहरुलाई बधाई र सफल कार्यकालको शुभकामना दिँदै युवा उद्यमीहरुलाई आवश्यक सहयोग गर्न मन्त्रालय सधैँ तयार रहेको बताए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले पनि १८औँ वार्षिकोत्सवको लागि शुभकामना सन्देश पठाएका थिए ।