काठमाडौं । बुद्धभूमि हाइड्रोपावर कम्पनीको आठ करोड रुपैयाँबराबरको साधारण सेयरको बिक्री आज सोमबारबाट खुला भएको छ । आजबाट कम्पनीको एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी आठ करोड रुपैयाँबराबरको आठ लाख कित्ता साधारण सेयरको बिक्री खुला भएको हो ।
बिक्री खुला भएको कुल सेयरमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषको लागि, दुई प्रतिशत अर्थात् १६ हजार कित्ता र बाँकी रहेको सात लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणको लागि छुट्याइएको हो ।
लगानीकर्ताहरूले न्यूनतम १० देखि ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी ७५ करोड रुपैयाँ रहेको संस्थाको जारी पुँजी ४० करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको छ ।
साधारण आयोजना प्रभावित क्षेत्रका जनताको लागि छुट्याएको र सर्वसाधारणको लागि छुट्याएको सबै सेयरको बिक्रीपश्चात् संस्थाको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुुग्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकको रुपमा भने सिभिल क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको सेयर बिक्रीकार्य छिटोमा यही असोज १४ गते र ढिलोमा असोज २५ गते बन्द हुने कम्पनीले जानकारी दिएको छ ।