काठमाडौं । त्रिविले २०७५ सालमा सञ्चालन गरेको स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रमको प्रथम सेमेष्टर क्वान्टम मेकानिक्स विषयको परीक्षामा गम्भीर त्रुटि गरेको भन्दै तत्कालीन समयमा परीक्षामा भाग नलिई आन्दोलनमा उत्रिने परीक्षार्थीहरुको माग तीन वर्ष हुँदा समेत बेवास्ता गरेको छ ।
तत्कालीन समयमा परीक्षामा नेपालभरबाट ७८ जना सहभागी रहेकोमा ४० जनाले परीक्षामा भाग लिई ३८ जनाले परीक्षा अस्वीकार गरेका थिए । ४५ पूर्णाङ्कको प्रश्नपत्रमा ४० पूर्णाङ्कको पुस्तक बाहिरबाट प्रश्न सोधिएको भन्दै विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका थिए । परीक्षा बहिष्कार गरी कानुनअनुसार अघि बढेका विद्यार्थीहरुलाई राज्य संयन्त्रले तत्कालीन डिन प्राडा रामप्रसाद खतिवडा र अहिलेका डिन पूर्वराजदूतका छोरा विनिल अर्याललाई जोगाउन असहयोग गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
तत्कालीन डिन खतिवडाले सर्तकता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै नेपाल प्रहरीलाई नै भ्रमित पारी विद्यार्थीहरुको भविष्यमा खेलबाड गर्न सफल भएपछि विद्यार्थीहरु जिल्ला न्यायाधिवक्ता हुँदै महान्यायाधिवक्ताको कार्यालयमा समेत पुगेका थिए । प्रहरीले खोज्न नसकेको प्रमाणहरु खोजी गरिदिँदा समेत महान्यायाधिवक्ताको कार्यालयले प्रहरीकोमा जान र प्रहरीले महान्यायाधिवक्ताकोमा जान भन्दै झुलाउँदै आएको छ ।
प्रश्नपत्र पाठ्यक्रमअनुसार नभएको विषयमा छानबिन गर्न बनेको समितिले ४५ पूर्णांकको प्रश्नपत्रमा ४० अंकको प्रश्नपत्र पाठ्यक्रम बाहिरबाट सोधिएको प्रतिवेदन बुझाउँदा समेत तत्कालीन डिन खतिवडाले छानबिन गर्नु सट्टा सतर्कता केन्द्र र राष्ट्रिय सूचना आयोगको निर्देशनविपरीत परीक्षा प्रकाशित हुनासाथ मुद्दा परेको विषयको कागजातहरु आफू फस्ने डरले धुल्याउने निर्णय गरेका थिए ।
तत्कालनि डिन खतिवडाले आफू फस्ने भएपछि परीक्षामा सहभागी भएका ४० मध्ये २७ जनाको रिजल्ट भने उच्च अंकका साथ उत्तीर्ण भएको देखाइएको छ भने लेख्दै नलेखेको विद्यार्थीले समेत अंक पाएको पाइएको छ । यस विषयमा छानबिन गर्ने सरकारी मुख्य निकायमध्ये एक अख्तियारले समेत आफ्नै ऐनविपरीत टीयूलाई नै छानबिन गर्न पत्र काटी यस्तो गम्भीर विषयमा मूकदर्शक भएर बसेको विद्यार्थीहरुको आरोप छ ।