दोलखा । तामाकोशी गाउँपालिकाका अध्यक्ष एवं नेकपा एमाले अध्यक्ष ईश्वरचन्द्र पोखरेलको आडमा एक व्यक्तिले जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत औलाखबहादुर आले तथा नागरिकता फाँटका कर्मचारीहरूमाथि हातपात गरेका छन् ।
आले दोलखाका पूर्वसहायक प्रमुख जिल्ला अधिकारी समेत हुन् । सेवाग्राहीले प्रशासनको कार्यकक्षभित्रै पुगेर आले र अन्य कर्मचारीमाथि बुधबार हातपात तथा अभद्र व्यवहार गरेका हुन् । उक्त घटनाको जिल्लामा रहेका ८ निजामति कर्मचारी संगठनहरूले निन्दा गरेका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले सिन्धुली जन्मस्थान भएका व्यक्तिलाई दोलखा स्थायी ठेगाना कायम गरी नागरिकता बनाइदिन दबाब दिँदै प्रशासकीय अधिकृत आले तथा नागरिकता फाँटका कर्मचारीलाई गरिएको अभद्र व्यवहारको निन्दा गरेका हुन् ।
आलेलाई नेकपा एमाले दोलखाका अध्यक्ष एवं तामाकोशी गाउँपालिकाका प्रमुख ईश्वरचन्द्र पोखरेलले कार्यकक्षमै सिन्धुलीबाट दोलखा बसाइँसराइ गरी आएको कुनै प्रमाण नभएको व्यक्तिलाई कानुनविपरीत दोलखा स्थायी ठेगाना कायम गरिदिन दबाब दिएको जिल्ला प्रसासन सम्बद्ध स्रोतले जानकारी दिएको छ । उनीसँगै रहेका सेवाग्राही भनिएका व्यक्तिले प्रशासकीय अधिकृत आले तथा नागरिकता फाँटका कर्मचारीहरूलाई अभद्र व्यावहार गर्दै हातपात गरेको बताइएको छ ।