काठमाडौं । बैंकिङ प्रणालीमा अन्तरबैंक अर्थात् बैंक तथा फाइनान्स कम्पनीहरुबीच अल्पकालीन अवधिको लागि एक आपसमा हुुने कारोबार रकम बढेको छ । विगतमा कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि गरिएको निषेधाज्ञा तथा लकडाउनका कारण कर्जाको मागमा कमी आएको थियो । तर पछिल्लो समय निषेधाज्ञा हटेको अर्थतन्त्र पनि सामान्य अवस्थामा फर्किँदै गएका कारण कर्जा माग बढेको छ । वित्तीय प्रणालीमा कर्जाको मागको तुलनामा निक्षेप नबढेका कारण बैंकिङ क्षेत्रमा पछिल्ला केही समय लगानीयोग्य रकमको अभाव अथवा तरलता बढेको छ । सोही कारण पनि पछिल्लो समय वित्तीय प्रणालीमा अन्तरबैंक कारोबार रकम बढेको हो ।
तरलता बढ्दा बैंक तथा फाइनान्स कम्पनीहरुले एक आपसमा न्यूनतम ब्याजमा अल्पकालीन अवधिको लागि कर्जा लिन्छन् । ‘सोही आधारमा चालू आर्थिक वर्षको पहिलो महिनामा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहित कुल ६२ वटा संस्थाहरुले तीन खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका हुुन्’, नेपाल राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालका अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले मात्र तीन खर्ब पाँच अर्ब ५५ करोड रुपैयाँको अन्तर बैंक कारोबार गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरुले २७ अर्ब ९१ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले एक अर्ब र विकास बैंक र तथा फाइनान्स कम्पनीहरुले ११ अर्ब ७१ करोड रुपैयाँ समेत गरी कुुल १२ अर्ब ७१ करोड रुपैयाँबराबरको मात्र अन्तर बैंक कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ ।
सोही आधारमा २०७७ साउनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर शून्य दशमलव २१ प्रतिशत रहेकोमा २०७८ साउनमा शून्य दशमलव ६६ प्रतिशत पुुगेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ साउनमा शून्य दशमलव शून्य दुई प्रतिशत रहेकोमा २०७८ साउनमा दुई दशमलव १३ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७८ साउनमा दुई दशमलव १८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर शून्य दशमलव तीन प्रतिशत रहेको थियो, राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ साउनमा आठ दशमलव आठ प्रतिशत रहेकोमा २०७८ साउनमा छ दशमलव ७१ प्रतिशत कायम भएको छ । २०७८ साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव ७६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर आठ दशमलव ४८ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः पाँच दशमलव ७७ प्रतिशत र १० दशमलव ४७ प्रतिशत रहेका थिए । यसैगरी राष्ट्र बैंकले चालू आवको पहिलो महिनामा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ६० अर्ब तरलता प्रशोचन भएको थियो । समीक्षा अवधिमा रिपोमार्फत चार अर्ब छ करोड र स्थायी तरलता सुविधामार्फत ५५ अर्ब ५५ करोड गरी कुल ५९ अर्ब ६२ करोड तरलता प्रवाह गरिएको छ ।
चालू आवको पहिलो महिनामा वाणिज्य बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर पाँच करोड ९५ लाख खुद खरिद गरी सात अर्ब आठ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४३ करोड ५७ लाख खुद खरिद गरी ५२ अर्ब १९ करोड तरलता प्रवाह गरिएको थियो । राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिनामा अमेरिकी डलर ४२ करोड बिक्री गरी ५० अर्बबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३२ करोड बिक्री गरी ३८ अर्ब ३७ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।