काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार छ सय ३३ दशमलव ४२ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ९७ दशमलव पाँच बिन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ३० हजार चार सय पाँच पटकको कारोबारमा पाँच करोड ५२ लाख २२ हजार छ सय ४८ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २६ अर्ब १० करोड ४२ लाख ६३ हजार छ सय ५४ रूपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय २८ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ६३ हजार सात सय ६६ पटकको कारोबारमा छ करोड चार लाख ७३ हजार एक सय ६३ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २९ अर्ब ७६ करोड ३८ लाख ७० हजार आठ सय ४८ रूपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र पाँचौँ दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने चौथो दिन बजार परिसूचक उकालो लागेको थियो । सोमध्ये पहिलो दिन बजार परिसूचक ६१ दशमलव २७ अंकले ओरालो लागेर दुई हजार सात सय ५८ दशमलव ४८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव सात अंंकले ओरालो लागेर पाँच सय १९ दशमलव ३६ बिन्दुमा झरेको थियो । दोस्र्रो दिन पनि बजार परिसूचक ७३ दशमलव पाँच अंकले ओरालो लागेर दुई हजार छ सय ८५ दशमलव ४१ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंंकले ओरालो लागेर पाँच सय छ दशमलव ३३ बिन्दुमा झरेको थियो ।
तेस्रो दिन पनि बजार परिसूचक ७० दशमलव एक अंकले ओरालो लागेर दुई हजार छ सय १५ दशमलव ४० बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ४२ बिन्दुले ओरालो लागेर चार सय ९४ दशमलव ९१ बिन्दुमा झरेको थियो । चौथो दिन भने बजार परिसूचक ५० दशमलव ५८ अंकले उकालो लागेर दुई हजार छ सय ६५ दशमलव ९३ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५८ अंकले उकालो लागेर पाँच सय तीन दशमलव ४६ बिन्दुमा चढेको थियो । पाँचौँ दिन भने बजार परिसूचक पुनः ३२ दशमलव ५१ अंकले ओरालो लागेर दुई हजार छ सय ३३ दशमलव ४२ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४१ बिन्दुले ओरालो लागेर लागेर चार सय ९७ दशमलव पाँच बिन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा अपर तामाकोशी हाइड्रोपावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी अरुण काबेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।
यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । सूचीकरणतर्फ भने यो साता मनास्लु लघुवित्त वित्तीय संस्थाको साधारण सेयर सूचीकृत भएको छ । सूचीकृत सेयरको सुरुवाती कारोबार मूल्य एक सय ३२ रुपैयाँ ६९ पैसादेखि तीन सय ९८ रुपैयाँ सात पैसासम्म तोकिएको थियो ।