कञ्चनपुर । कञ्चनपुरको बेलौरीका स्थानीयले (नेपाल–भारत) नाका स्तरोन्नति गर्न माग अघि सारेका छन् । शनिबार बेलौरी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा स्थानीयले बेलौरी नाका स्तरोन्नतिको माग अघि सारेका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता हरेन्द्र विष्टले दक्षिणी क्षेत्रमा बेलौरी नाका विस्तारको विकल्प नभएको बताए ।
उनले नाका विस्तारका लागि पटक–पटक सरकारी निकाय घचघच्याउँदा समेत पहल नभएको भन्दै नाका विस्तारमा जोड दिए । जिल्लाको पहिलो सदरमुकाम रहेको बेलौरीको आर्थिक समृद्धिका लागि आवश्यक रहेको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बेलौरीको नाका विस्तारका लागि प्रशासनिक निकायबाट पहल गर्ने बताए । कार्यक्रममा विभिन्न दलका नेता कार्यकर्ता, जिल्लास्थित सुरक्षा निकाय, व्यवसायी, उद्योगी एवं सरोकारवाला निकायको सहभागिता थियो ।