ललितपुर। ऐतिहासिक सम्पदा समय् फल्चा खाने दाउ गर्दा ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय नै बन्द हुने अवस्थामा पुगेको छ । समय् फल्चा पुनर्निर्माण उपभोक्ता समितिले फल्चा निर्माणका क्रममा सहकारीको मूल प्रवेशद्वार नै बन्द गरिएको हो ।
२ सय ६ वर्ष पुरानो ऐतिहासिक समय फल्चा पुनर्निर्माण उपभोक्ता समितिले फल्चा निर्माणमा सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले निरन्तर अवरोध गरेपछि मूलद्वार नै बन्द गरेको हो । समितिले मंगलबार ललितपुर नगर प्रहरी र स्थानीय प्रहरीको उपस्थितिमा सहकारीको भवनको पूर्वतर्फ रहेको प्रवेशद्वार बन्द गराएर जस्ताले बारेको हो ।
सहकारीको भवनअगाडि रहेको समय् फल्चाको १ आना १ पैसा सरकारी जग्गा जस्ताले बेरबार पारिएसँगै सहकारीको भवन प्रवेशमा अवरोध भएको छ । यसअघि गत असोज ११ गते उच्च अदालत पाटनको पछिल्लो आदेशका आधारमा फल्चा पुनर्निर्माण उपभोक्ता समितिले सहकारीको प्रवेशद्वारमै जस्ताले बाटो बन्द गराएर फल्चा निर्माण थालेको थियो ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले कर्मचारीलाई फल्चा निर्माणमा अवरोध गर्न खटाएपछि पुल्चोकबासीले गेट नै बन्द गरेर बार लगाएका थिए । सहकारीले भवनको नक्सा पास गराउँदा समेत उत्तरतर्फ ढोका र बाटो बनाउने उल्लेख छ । तर, स्वीकृत नक्साबेगर सहकारीले पूर्वतर्फ सटरसहित ढोका बनाएर लालीगुराँस डेरी र होमप्रो फर्निसिङ सञ्चालन गर्दै आएको छ ।
एक हप्ताअघि स्थनीयवासीले बारबेर गरेर सहकारीका कर्मचारीलाई समेत लखेटेका थिए । घटनास्थलबाट फरार रहेका सीईओ भण्डारी सीडीओ कार्यालय पुगेर आश्रय लिएका थिए । सीडीओ घनश्याम उपाध्यायले वार्ताका लागि भन्दै मेयर चिरिबाबु महर्जन र उपभोक्ता समितिका अध्यक्ष रोविन महर्जनलाई कार्यालयमा बोलाएका थिए । कार्यालयमा भएको छलफलमा भण्डारीले पूर्वतर्फबाट प्रवेशद्वार दिन अनुनय गरेका थिए । उनको प्रस्तावमा मेयर महर्जन र उपभोक्ता समितिका अध्यक्ष रोविनले असहमति जनाएपछि सीडीओले नै अनुनय गरेका थिए ।
सीडीओ उपाध्यायको अनुनयकै कारण भण्डारीले सातदिने अल्टिमेटम पाएका थिए । सोही सातदिने अल्टिमेटम मंगलबार सकिएपछि फल्चा निर्माण उपभोक्ता समितिले मूल प्रवेशद्वारमा जस्ताले बार लगाएको हो । अगाडिको ढोकामा जस्ताले बार लगाएपछि सहकारीको भवन प्रवेश गर्न पछाडिको ढोका प्रयोग गर्न थालिएको छ । सहकारीले पछिल्लो समय बचत रकम फिर्ता माग्नेहरुको लाइन बढ्न थालेपछि उत्तरतर्फबाट वैकल्पिक बाटो बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।