पेरिस, माघ १५
रेनोको बोर्ड बैठकले फक्सवागनका व्यवस्थापक लु्का डि मिओलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भएको छ । स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार मंगलबार बस्ने बोर्ड बैठकले यससम्बन्धी प्रस्ताव पारित गर्नेछ । निओ इटालीमा जन्मेका कार्यकारी हुन् । उनले फक्सवागनको सिट ब्रान्ड हेर्दै आएका थिए । यही महिनाको सुरुमा उनले व्यवस्थापकीय भूमिका छोडेका थिए ।
यद्यपि उनले फ्रान्सको कार कम्पनीको जिम्मेवारी जुलाईसम्म सम्हाल्नेछैनन् । रेनोको सेयर सदस्य समेत रहेको फ्रेन्च सरकारले उनको समर्थन गरेको बुझिएको छ । उनको नियुक्तिसँगै जापानी कार निर्माता निसानसँगको सहकार्यलाई जोगाउने अपेक्षा गरिएको छ । रेनो र निसाको दुई दशक लामो सहकार्य यसअघि निसानका प्रमुख कार्लोस गोसनले हेर्दै आएका थिए ।
गोसन विभिन्न अभियोगमा जापानमा पक्राउ पर्दै धरौटीमा छुट्दै आएका थिए । हाल उनी जापानबाट लेबनान आइपुगेका छन् । उनीविरुद्ध वित्तीय अपराध गरेको भन्दै अहिले पनि जापानी अदालतमा मुद्दा विचाराधीन छ । युरोप, रुस र चीनमा रेनोको सवारीसाधन बिक्रीमा कमी आएको छ । रेनोमा मिओको आगमनले कम्पनीलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।