काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढी पहिरो गई जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोतसाधन प्रयोग गरी खोज तथा उद्धार कार्य सञ्चालन गरेको छ । सो कार्यबमोजिम कात्तिक २ गते कालिकोट राम्नी इलाकामा जोखिममा रहेका करिब ६० घरधुरीका दुई सय ५० देखि तीन सय जना स्थानीयलाई राम माध्यमिक विद्यालय र स्वास्थ्य चौकीको भवनमा सार्नुका साथै पहिरोमा पुरिएका खाद्यान्न, लत्ता कपडा र अन्य चलअचल सामान निकाल्ने कार्य गरिएको थियो ।
कालिकोटकै खाडाचक्र नगरपालिका–६ पिलि–बिर्तामोड खण्डमा पहिरोसँगै ठूलो ढुङ्गा झरेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि उक्त ढुङ्गालाई अन्य सुरक्षा निकायको सहकार्यमा बिष्फोटनमार्फत हटाइ राजमार्ग सुचारु गरेको सेनाले जनाएको छ । अविरल वर्षाको कारण डोटी सायल गाउँपालिका–४ भल्मामा ३० वर्षीय जङ्गबहादुर विष्टको घर पहिरोमा परी निजको मृत्यु भएकामा सेनाले सो शव निकाल्ने कार्य गरेको थियो । सेनाद्वारा रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्ड दर्शन गर्न जाने क्रममा ललितपुरका वर्ष २७ का राजाराम सुनार अत्यधिक चिसोको कारण लेक लागी धिम्सा इलाकामा अचेत अवस्थामा रहेको खबर प्राप्त भएपछि सेनाले उक्त बिरामीलाई थप उपचारको लागि रसुवा अस्पताल, धुञ्चेमा पु-याएको जनाएको छ ।