धनगढी । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो ।
धनगढीबाट डोटी दुई हजार छ सय १५ रुपैयाँ र डोटीबाट धनगढी दुई हजार पाँच सय १५ रुपैयाँ, धनगढीबाट बझाङ तीन हजार नौ सय ९५ रुपैयाँ र बझाङबाट धनगढी तीन हजार आठ सय ९५ रुपैयाँ हवाइ भाडादर कायम गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए । यात्रुको चाप बढेपछि धनगढीलाई आधार बनाएर पहाडी जिल्लामा हवाइ सेवा सञ्चालन गर्नका लागि आइतबारदेखि परीक्षण उडान भएको उनको भनाइ छ । उनका अनुसार आइतबार पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा भएको छ ।
धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उडानका लागि तालिका सार्वजनिक गरिसकेको जनाएको छ । हवाइ भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन् समस्या भइरहेको विमानस्थलले जनाएको छ ।