काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच यूएईमा कार्यरत नेपाली श्रमिकको हक, हित र सामाजिक सुरक्षाका विषयमा छलफल भएको छ ।
दुई देशका मन्त्रीबीच बुधबार भएको भेटवार्तामा नेपाल–यूएई द्विपक्षीय बैठक आयोजना गर्ने, यूएई जाने नेपाली कामदारलक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार यूएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायका विषयमा छलफल भएको हो ।
यस्तै आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय वैठकमा सहभागी नेपाली टोलीले आबुधाबीमा अन्य कूटनीतिक भेटघाट समेत गरेको छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कतार, साउदी अरेविया र मलेसियाका समकक्षीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
यस्तै कतारसँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्बर ८ र ९ मा हुने संयुक्त बैठकको तयारीका साथै नेपाली श्रमिकलक्षित तालिम केन्द्र स्थापनाको विषयमा छलफल भएको थियो । साउदी अरेबियासँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, श्रमिकको क्षमता परीक्षण प्रणालीमा साउदी सरकारको सहयोग लिने विषयका साथै नेपाली श्रमिकलक्षित तालिम केन्द्र स्थापनाको विषयमा छलफल भएको बताइएको छ ।
यसैगरी मलेसियासँगको सचिवस्तरीय वैठकमा संयुक्त समितिको बैठक छिटो आयोजना गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण र रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजीकरण गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुषालले बताए ।
उपसचिव भुषाललाई रिसर्ज अवार्ड : श्रमिक पठाउने र लिने देशहरूको साझा फोरम आबुधाबी डायलगमा आप्रवासी कामदारको विषयमा अनुसन्धनात्मक प्रतिवेदन प्रस्तुत गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुषालले रिसर्ज अर्वाड प्राप्त गरेका छन् ।