काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदको नियुक्ति प्रक्रिया सुुरु गरेको छ । मन्त्रालयले यसको लागि खुल्ला प्रतिस्पर्धाद्वारा योग्य उम्मेदवारको छनौट प्रक्रिया सुरु गरेको हो ।
मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै धितोपत्र बोर्डका लागि योग्य उम्मेदवारले यही कात्तिक २५ गतेसम्म आफ्नो योग्यताको प्रमाणपत्रसहित आवेदन दिन आह्वान गरेको छ । धितोपत्र बोर्डमा अध्यक्षको लागि आवेदन दिनको लागि आवेदन दिने व्यक्ति नेपाली नागरिक भएको हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको हुनुपर्ने लगायतका मापदण्डहरु तोकिएका छन् । यी सबै योग्यताहरु पुगेकाले यही कात्तिक २५ गतेसम्ममा अध्यक्ष पदको लागि आवेदन दिन सक्नेछन् ।
बोर्डको अध्यक्ष पदमा यसअघि भीष्मराज ढुंगाना रहेका थिए । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रक्रियामा विवादमा फसेपछि सरकारले ढुंगानालाई अध्यक्ष पदबाट राजीनामा दिन आग्रह गरेको र सोहीबमोजिम ढुंगानाले राजीनामा दिएपछि नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद खाली भएको थियो ।