इस्लामाबाद, माघ १६ पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ । अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा बन्द गरेको हो । ‘सुरक्षाको कारण’ देखाउँदै नाका बन्द गरिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता अइशा फारुक्वीले अफगानिस्तानसँगको नाकास्थलमा आवतजावत गर्न नमिल्ने गरी बन्द गरिएको बताए । ‘हामीले अफगानिस्तानसँग कुराकानी गर्ने र सम्पर्क गर्ने गरिरहेका छौँ, अहिले बन्द गरिएको नाका चाँडै नै खुला हुन्छ भन्ने विश्वास लिएका छौँ’, उनले भने । नाका बन्द भएपछि पाकिस्तान तथा अफगानिस्तान दुवैतर्फ ठूलो संख्यामा आम नागरिक तथा सवारीसाधनहरु अलपत्र परेको पत्रकार राहत शिन्वारीले बताए ।