काठमाडौं । नेपाल टेलिकमले मुलुकको अति दुर्गम स्थानहरूमध्येको सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरूका लागि अप्टिकल फाइबर लिंक स्थापना गरेको छ । उक्त लिंक स्थापनापश्चात् टेलिकमका ग्राहकहरूले दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन् ।
नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो । समुद्री सतहबाट तीन हजार मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेसनलाई गत बिहीबार १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो । रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरूको आवश्यकता र चाहना भए पनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन ।
नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने देखिन्छ । टेलिकमका अनुसार पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लुलगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरूको गुणस्तर अभिवृद्धि हुनेछ । यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरूको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुनेछ ।
विगतका वर्षहरूमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरीयताका बारेमा टिका टिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिंकको प्रयोगसँगै अब ग्राहकवर्गले गुणस्तरीय सेवाको अनुभव गर्नसक्ने अपेक्षा गरिएको छ ।