दोलखा । आलु उत्पादनको हिसाबले उर्वर थलोको रूपमा चिनिने जिल्लाको शैलुङ गाउँपालिकाको एउटै वडामा वार्षिक २० करोड रूपैयाँबराबरको आलु उत्पादन हुनेगरेको छ । गाउँपालिकाको वडा नम्बर–८ भैँसेबाट वर्षमा बीस करोडबराबरको आलु उत्पादन हुनेगरेको वडा अध्यक्ष रामेश्वर उप्रेतीले जानकारी दिए ।
उच्च भेगमा पर्ने भैँसेमा अत्यधिक मात्रा किसानले आलु खेती गर्नेगरेका छन् । गत वर्ष सोही वडाबाट काठमाडौँमा १२ करोड रूपैयाँबराबरको आलु ढुवानी भएको थियो । यस वर्ष पनि करिब १५ करोड रूपैयाँबराबरको हाराहारीमा भैँसेबाट सिन्धुपाल्चोकको मुडे बजार र काठमाडौँमा आलु पठाइएको वडा अध्यक्ष उप्रेतीले बताए । कुल तीन हजार पाँच सय जनसंख्या रहेको सो वडाका एक हजार पाँच सयभन्दा बढी किसानले व्यवसायीक आलुखेती गर्दैँ आएका छन् । तरकारीमा प्रयोग हुने ताजा आलु तथा बीउको लागि निकालेको आलु गरेर भैँसेमा कम्तीमा २० करोड रूपैयाँभन्दा बढीको आलु उत्पादन हुनेगरेको उनले बताए । यतिबेला किसानलाई बीउको आलु बिक्री गर्न र छुट्याउन भ्याइनभ्याइ छ । शैलुङ क्षेत्रमा उत्पादन हुने आलुको बीउ जिल्लाको तल्लो क्षेत्र अर्थात् खेतमा लगाउन लैजाने गरेको आलु व्यवसायी नारायण थापाले बताए ।
थापाका अनुसार भैँसेबाट दोलखाको बेँसी फाट्मा धेरै आलुको बीउ जाने गरेको छ । कात्तिक महिनामा मात्र दुई करोडको आलुको बीउ भैँसेबाट बाहिरिएको उनले बताए । सो वडामा व्यापारी आफैँले तरकारीमा प्रयोग हुने र बीउलाई प्रयोग गरिने आलु राख्न पाँच ठाउँमा भण्डारण गरेर राख्ने गरेको उनले जानकारी दिए । यस्तै भैँसेका १० जना युवाले गाउँमा उत्पादन भएको आलूलाई भैँसे बजारमा जम्मा गरेर अन्यत्र बिक्री गर्नेगरेका छन् । एक व्यापारीले वर्षमा दुई करोडमाथिको आलु जम्मा गरेर बिक्री गर्ने भएकाले वडाबाट वार्षिक २० करोडबराबरको आलु उत्पादन हुनेगरेको वडाको तथ्यांक रहेको छ ।
असहज सडकका कारण आलु बिक्री गर्न समस्या : शैलुङका स्थानीयलाई कच्ची सडकले गर्दा उत्पादित आलु सिजनमा नै बिक्री गर्न भने समस्या हुनेगरेको छ । शैलुङदेखि चरीकोट काठमाडौँ चल्ने मुख्य सडकको स्तरोन्नति हुन नसक्दा सो भेगका किसानलाई आलु बिक्री गर्न तथा ओहोरदोहोर गर्न समस्या हुनेगरेको हो । आलु निकाल्ने मुख्य सिजनमा कच्ची सडक हिलाम्मे र धुलाम्मे हुँदा सवारीसाधन गाउँसम्म आउन नसक्दा आलु किसान मर्कामा पर्ने गरेका छन् । सडकको खराबीका कारण वषेर्नी किसानहरूले समस्या खेप्नुपरेको स्थानीय आलु किसान दलबहादुर तामाङले बताए । शैलुङ भैँसे हुँदै चल्ने मुख्य सडकमा आलु बोक्ने ठूला सवारी गाउँसम्म आउन नसक्दा ढुवानीको लागि तयारी अवस्थामा राखेको आलु भण्डारण गरेकै ठाउँमा कुहिने, कालो पस्ने, उम्रने हुँदा सयौँ केजी आलु फ्याँक्नु परेको उनको गुनासो छ ।
स्थानीय सरकारको कार्यकाल सकिन लाग्दा समेत दश वर्षअघि निर्माण भएका सडक मर्मत तथा स्तरोन्नति हुन नसकेको उनले बताए । सो भेगका स्थानीय किसानलाई पानी पर्न साथ हिलाम्मे हुने सडकले वर्षौँदेखि सताउँदै आएको छ । सडक मर्मत तथा निर्माण गर्न गाउँपालिकाले करोडौँ रकमका योजना सडकमा पारे पनि अहिलेसम्म सडक भने जस्ताको तस्तै रहेको स्थानीयको भनाइ छ ।