काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । सीआईबीका अनुसार भारतको मोतिहारी जिल्ला वडा नं. १०, झोझरा घर नं. १३६५ घर भई ललितपुर महानगरपालिका वडा नं. १५, सातदोबाटोस्थित जय बाबा गणिनाथ महाराज सप्लायर्समा प्रमुख पदमा कार्यरत काठमाडौंको कमलपोखरी बस्ने वर्ष ४५ का प्रतिवादी राजहरण साहलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका साहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी वि.सं. २०७५ पुस ५ गते ग्लोबल आईएमई बैंकको ज्ञानेश्वर शाखाको चेक काटी बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनले २०७७ माघ २६ गते प्रतिवादीसाहको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
सो पश्चात् फरार रहेका साहलाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले प्रतिवादी साहलाई सोमबार काठमाडौंको कमलपोखरीबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार पक्राउ परेका साहलाई फैसला कार्यान्वयनको लागि सोही दिन ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।