काठमाडौँ । ओमानमा गैरकानुनी रुपमा बसेका नेपालीलाई डिसेम्बर अन्तिसम्ममा ओमान छाड्न त्यहाँको सरकारले निर्देशन दिएको छ । योसँगै ओमानमा भिसालगायतका आधिकारिक कागजातविना काम गरिरहेका तथा रोजगारदाताको सम्पर्कबाहिर रहेका नेपालीहरूले ३१ डिसेम्बर ओमान छाड्नुपर्ने भएको छ ।
ओमानमा विभिन्न समयदेखि भिसा नवीकरण नभएको वा विना जानकारी आफ्नो रोजगारदाता छोडी विलखबन्द भई अन्यत्र काम गरिरहेका नेपाली नागरिकहरू स्वदेश फर्किन चाहेमा ओमानको श्रम मन्त्रालयको स्वीकृति लिएर ३१ डिसेम्बर २०२१ सम्म ओमान छोड्नका लागि श्रम/भिसा सम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय भएको ओमान, मस्कटस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
गैरकानुनी रुपमा ओमानमा रहेका नेपाल फर्किन इच्छुक नेपालीहरूलाई ओमानको श्रम मन्त्रालयबाट स्वीकृति लिन दर्ता गर्ने समय यही डिसेम्बर २०२१ सम्मका लागि थप गरिएकोले ओमानमा विभिन्न कारणले आफ्नो रोजगारदाताको सम्पर्क बाहिर रहेका तथा भिसा÷राहदानीको म्याद सकिएका नेपालीहरुलाई नेपाली दूतावासमा अविलम्ब सम्पर्क गर्न समेत नेपाली दूतावासले आग्रह गरेको छ ।
श्रम सहचारी दिनेश ढकालका अनुसार यसरी नेपाल जान चाहने नेपाली नागरिकहरूले (पासपोर्टको म्याद सकिएर ट्राभल डकुमेन्ट बनाउन परेमा वा यस सम्बन्धी थप केही बुझ्नुपरेमा) नेपाली दूतावासको सहयोग लिन समेत आग्रह गरिएको छ । आपराधिक गतिविधिमा संलग्न भई रोजगारदाताले प्रहरीमा उजुरी गरेकाहरूको हकमा यो प्रक्रिया लागू नहुने बताइएको छ ।
श्रम सहचारी ढकालका अनुसार सोही प्रक्रियाअनुरुप यसअघि दूतावासको पहलमा करिब ५० जना नेपालीहरु स्वदेश फर्किसकेको बताएका छन् । ओमानमा धेरै संख्यामा नेपालीहरु रहेको पाइन्छ । आर्थिक वर्ष ०७७/०७८ मा करिब चार हजार नेपाली युवाहरु ओमान जानका लागि श्रम स्वीकृति लिएको पाइन्छ । वर्षेनी हजारौँ युवाहरु ओमान जाने हुँदा त्यसमध्ये कैयौँ युवाहरु कम्पनी छाड्ने, विना कागजात काम गर्ने, म्याद सकिएपछि पनि काम गरेर बस्नेलगायतका कारण गैरकानुनी रुपमा बसेको पाइन्छ ।
यसैबीच पछिल्लो समय मस्कटस्थित नेपाली दूतावास राजदूतविहीन समेत बनेको छ । असोज २६ गते ओमानका लागि नेपालका राजदूत डा.सर्मिला पराजुली ढकाल फिर्ता भएसँगै नेपाली दूतावास राजदूतविहीन हुनपुगेको हो । सरकार परिवर्तनसँगै राजदूत परिवर्तन हुने हाम्रो संस्कारले गर्दा पछिल्लो समय विभिन्न मुलुकमा रहेका नेपाली राजदूतावास राजदूतविहीन हुनपुगेको हो ।