काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये सरकारी स्वामित्वका बैकहरुमा निष्क्रिय कर्जा (एनपीएल) को मात्रा अधिक देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार निजी क्षेत्रद्वारा सञ्चालित बैंकहरुको तुलनामा सरकारी स्वामित्वका बैंकहरुमा निष्क्रिय कर्जा बढी देखिएको हो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा निष्क्रिय कर्जा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक र नेपाल बैंकमा देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाासिक अवधिमा राष्ट्रिय वाणिज्य बैंकमा तीन दशमलव एक प्रतिशत कर्जा निष्क्रिय देखिँदा नेपाल इन्भेष्टमेन्ट बैंकमा दुई दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने यी दुुई बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव १० र दुई दशमलव ८० प्रतिशत रहेको थियो । यसैगरी कृषि विकास बैंक र नेपाल बैंकमा पनि चालू आवको पहिलो त्रैमासिकमा निष्क्रिय कर्जाको अनुपात क्रमशः दुई दशमलव आठ र दुई प्रतिशत रहेका छन् ।
यीबाहेकका एनएएमबी बैंक, सिटिजन्स बैक इन्टरनेशनल लिमिटेड, नेपाल बंगलादेश बैंक, प्रभुु बैंक, नेपाल बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकसहितका नौवटा बैंकहरुमा भने चालू आवको पहिलो त्रैमासिकमा निष्क्रिय कर्र्जाको अनुपात एक दशमलव १३ देखि एक दशमलव ९१ प्रतिशतसम्म देखिएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात शून्य दशमलव ६५ देखि दुई दशमलव ८३ प्रतिशतसम्म रहेको थियो ।
चालू आवको पहिलो त्रैमासिकमा हिमालयन बैंकले, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सिभिल बैंक, बैंक अफ काठमाडौं र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ५८ देखि शून्य दशमलव ९६ प्रतिशतसम्म रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात शून्य दशमलव ८७ देखि एक दशमलव २३ प्रतिशतसम्म रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार मेगा बैंक, सिद्धार्थ बैंक, माछापुच्छे« बैंक, एनआईसी एसिया बैंक र लक्ष्मी बैंकमा भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ४९ देखि शून्य दशमलव ८९ प्रतिशतसम्म रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात शून्य दशमलव ४० देखि एक दशमलव ३२ प्रतिशतसम्म रहेको थियो । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्येमा नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक र सानिमा बैंकमा भने निष्क्रिय कर्जाको अनुपात सबैभन्दा कम रहेको छ ।
चालू आवको पहिलो त्रैमासिकमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव १७, शून्य दशमलव १३ र शून्य दशमलव ११ प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव २५, शून्य दशमलव २२ र शून्य दशमलव ४० प्रतिशत रहेका थिए ।
