धनबहादुर जप्रेल
कञ्चनपुर, माघ १७
महेन्द्रनगरमा निर्माण भएको सिटीहल निर्माण कार्य सम्पन्न भई सक्दा पनि प्रयोगमा आउन सकेको छैन । तत्कालीन नगर विकास समितिले निर्माण गरेको सिटीहल निर्माण कार्य सम्पन्न भई सकेको वषौँ भए पनि हालसम्म हस्तान्तरण हुन सकेको छैन । सरकारले तत्कालीन नगर विकास समितिलाई विघटन गरेपछि नयाँ कार्यसमिति गठन गर्न ढिलाइ गरेका कारण भवन हस्तान्तरण हुन नसकेको हो ।
हाल उक्त भवन जीर्ण अवस्थामा रहेको देखिन्छ । भवनको अगाडि लगाइएको सिसा फुटेको छ भने भवनको दिवालमा समेत चिरा परिसकेको छ । उक्त सिटीहल करिब नौ करोडको लागतमा निर्माण गरिएको हो । भवनको संरक्षण र रेखदेखका लागि भन्दै ठेकेदारले चौकीदारको व्यवस्था गरेको छ । उक्त भवनको अगाडि लगाइएको सिसा गत वैशाखमा आएको हावाले फुटाएको र उक्त सिसा मर्मत गर्ने जिम्मा ठेकेदारको नै हुने तत्कालीन नगर विकास समितिका नायब सुब्बा पुष्पराज भट्टले बताए ।
यस्तै तत्कालीन महेन्द्रनगर नगर विकास समिति सरकारले खारेज गरेपछि सम्पन्न भइसकेको महेन्द्रनगर सिटीहल अझै हस्तान्तरण हुनेमा अन्यौल देखिएको छ । नेपाल सरकारले गत पुस २३ गते गरेको निर्णयले नगर विकासको काम नगरपालिका तथा स्थानीय तहलाई दिने निर्णय गरेपछि नगर विकास अन्यौलमा परेको हो । हाल नगर विकास समिति संघीय आयोजना इकाइ डिभिजन कार्यालय मातहत रहेर हाजिर लगाउने काम भइरहेको तत्कालीन नगर विकास समितिका सूचना अधिकारी तथा नायब सुब्बा पुष्पराज भट्टले बताए । उनका अनुसार हाल कर्मचारीहरू नगर विकासको कामको जिम्मा नपाएर हाजिर मात्र लगाउने काम गरिरहेका छन् ।
यस्तै कञ्चनपुरको महेन्द्रनगर सिटीहलको निर्माण कार्य सम्पन्न भइसकेको भए पनि ठेकेदारको पैसा तिर्न नसकेकोले हस्तान्तरणको काम रोकिएको नगर विकासका नायब सुब्बा भट्टले बताए । उनका अनुसार हालसम्म सिटीहल निर्माणमा करिब साढे नौ करोड रूपैयाँ खर्च भइसकेको छ । तर, हाल ठेकेदारको पैसा तिर्न काम समिति नहुँदा रोकिएकाले हस्तान्तरणको काम पनि रोकिएको हो । तत्कालीन नगर विकास समिति विघटन भएपछि ऐनबमोजिम पालिकाको प्रमुख नगर विकासको संयोजकत्वमा आउने ऐनअनुसार नयाँ समिति आउन नसकेकाले उक्त पैसा भुक्तानी गर्न नसकिएको हो ।
उक्त सिटिहल हाल हस्तान्तरण हुन नसकेकाले कुनै पनि प्रयोजनमा ल्याउन सकिएको छैन । हाल प्रयोग र व्यवस्थापन नहुँदा प्रयोगमै नआई जीर्ण अवस्थामा रहेको स्थानीयहरू बताउँछन् । हाल नेपाल सरकारले नगर विकासको काम स्थानीय तहलाई दिने निर्णय गरेपछि नगर विकास समितिलाई विघटन गरेर संघीय आयोजना इकाइ डिभिजनद्वारा सञ्चालन भइरहेको संघीय आयोजना इकाइ प्रमुख सुरेश वाग्लेले बताए । ठेकेदारको बिल भुक्तानी गरेर भवनलाई हस्तान्तरण गर्नका लागि मन्त्रालयमा काम भइरहेको र अब चाँडै नै हस्तान्तरण गरिने उनले बताए ।