काठमाडौं । आठ वर्षअघि नै सर्वोच्च अदालतले देशमा भित्र्याउन रोक लगाएको अनुवंश परिवर्तित जैव फुड–जीएमओ फुड (जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म)लाई सरकारले आयात गर्न दिन लागेको प्रति किसान संगठनहरूले विरोध जनाएका छन् । मानिस, पशुपन्छी र वातावरणलाई समेत हानि पु-याउने गम्भीर सम्भावना रहेको यस फुडलाई सरकारले सर्वोच्चको आदेशलाई छलेर जस्केलाबाट भित्र्याउन थालेको चार किसान संगठनको आरोप छ ।
अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका इन्चार्ज कृष्ण रानाले शनिबार संयुक्त विज्ञप्ति जारी गरी प्रतिबन्धित वस्तुहरू आयात गर्ने काम तुरुन्त रोक्न माग गरेका छन् ।
विश्व स्वास्थ्य संगठन समेत विश्वस्त हुन नसकेको प्रतिबन्धित अनुवंश परिवर्तित जैव उत्पादनले मानिसको स्वास्थ्य सुरक्षाका क्षेत्रमा पनि उत्तिकै गम्भीर असर पार्ने उनीहरूको भनाइ छ । यसबारे विश्वव्यापी रूपमा बहस चलिरहेको बेला सरकारले प्रतिन्धित त्यस्ता खाद्यान्नमध्ये हालै मकै, भटमास र क्यानोला (सर्स्यौंको तेल) तेलजस्ता उत्पादनहरू मानिसले प्रत्यक्ष उपभोग नगर्ने भनेर प्लान क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई आयात गर्ने अनुमति दिएर देशमा थप गम्भीर खतरा र समस्या निम्त्याउने काम गरेको किसान संगठनको आरोप छ ।
मानिसको स्वास्थ्य, जैविक विविधता र प्राकृतिक खाद्यान्न श्रृंखलालाई नै विगार्ने प्रतिबन्धित वस्तुहरू आयात गर्ने कदम तुरुन्त रोक्न उनीहरूले जोड दिएका छन् । खाद्य सुरक्षाको समस्या समान खाद्य पदार्थ वितरणको अभावमा उत्पन्न हुने समस्या भएकोले सरकारले समान खाद्य सामग्री वितरणको सार्वजनिक व्यवस्था गरेर यस्ता समस्या हल गर्न तत्काल ठोस कदम चाल्नुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् ।