काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः ११ अर्ब ८५ करोड ५० लाख रूपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि कात्तिक २२ गते पनि राष्ट्र बैंकले छ अर्ब १० करोड रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति कात्तिक ३० गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिएका थिए । बिक्री गरिएको कुल ट्रेजरीमध्येमा ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको नौ अर्ब ८५ करोड ५० लाख रूपैयाँको रहेको छ । यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७८ फागुन तीन गते र २०७९ जेठ तीन गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार बिक्री हुने उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गत हो । गत साता राष्ट्र बैंकले ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको छ अर्ब रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।