काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको लागि ११ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका सूचना अधिकृत रितेश शाक्यका अनुसार नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि डा. रमेश कुमार भट्टराई, जीवन अम्गाई, प्रविन पन्दाक, बद्रीप्रसाद प्याकुरेल, कृष्णबहादुर कार्की, निरञ्जन फुयाँल, दिपक गौतम, केशवप्रसाद श्रेष्ठ, गोविन्दप्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरेले आवेदन दिएका हुन् ।
यसअघि अर्थ मन्त्रालयले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि यही कात्तिक ११ दरखास्त आह्वान गरेको थियो । मन्त्रालयले सार्वजनिकरुपमा सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको थियो । नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा यसअघि चन्द्रसिंह साउद रहेका थिए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँगै साउद पनि सर्वोत्तम सिमेन्टको सेयर खरिदसम्बन्धी विवादमा तानिएपछि साउदले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै प्रमुख कार्यकारीविहीन भएको नेप्सेमा सीईओ नियुक्तिको लागि मन्त्रालयले १५ दिनको म्याद तोकेर सूचना जारी गरेको थियो । उक्त पदको लागि मन्त्रालयले बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव हासिल गरेको व्यक्तिले हुनुपर्ने प्रावधान तोकेको थियो । सोही प्रावधानअनुसार योग्यता पुगेका ११ जना व्यक्तिहरुले कात्तिक २८ गते अपराह्न ४ बजेसम्म आवेदन दिएको प्रवक्ता शाक्यले बताए ।