काठमाडौँ । नेपाल बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विसं १९९४ कात्तिक ३० गते स्थापना भएका नेपालकै जेठो बैंक नेपाल बैंक लिमिटेडले बैंकको ८५औँ वार्षिक उत्सवको अवसर पारेर कात्तिक २६ गते भूगोलपार्कस्थित केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । बैंकले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा आयोजित विभिन्न कार्यक्रमहरूमध्ये उक्त रक्तदान कार्यक्रममा एक सय चार जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीलगायत बैंकका कर्मचारीहरू तथा विभिन्न ग्राहकहरूले रक्तदान गरेका थिए । बैंकको आयोजना तथा लायन्स क्लब अफ काठमाडौं बैंकरको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी, यस बैंकले देशका विभिन्न भागमा आर्थिक, सांस्कृतिक, सामाजिक, सरसफाई, शैक्षिक, स्वस्थ्य, वित्तीय साक्षरतालगायत विभिन्न सामुदायिक हितबसम्बन्धी कार्यक्रमहरू समेत आयोजना गरेको छ ।