काठमाडौं । सिभिल बैंकको अध्यक्ष पदमा प्रतापजंग पाण्डे चयन भएका छन् । बैंक सञ्चालक समितिको यही मंसिर एक गते बसेको सञ्चालक समितिको तीन सय ६२औँ बैठकले पाण्डेलाई सर्वसम्वतरूपमा अध्यक्ष पदमा चयन गरेको हो ।
बैंक अध्यक्ष चयन भएपश्चात् पाण्डेले सर्वसम्मतरूपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गरेका सबै सञ्चालकलाई धन्यवाद दिएका छन् । सोपश्चात् सञ्चालकहरूले समितिको अध्यक्ष चयन भएका पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बैंकलाई थप उचाइमा पु-याउनको लागि थप मदत मिल्नेमा जोड दिँदै सबै सञ्चालकहरूको साथ–सहयोग रहने धारणा व्यक्त गरे ।
अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारीरूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरूलाई उच्च मनोबलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्ध बनाउनेतर्फ विशेष रूपमा अगाडि बढाई सेयर होल्डरलगायत समग्र पक्षको भावनाअनुरूप अगाडि बढ्ने प्रतिबद्धताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरू प्रदान गर्नेतर्फ बैंकको प्राथमिकता रहनुपर्नेमा जोड दिए ।
यसअघि बैंकको अध्यक्ष पदमा इच्छाराज तामाङ रहेका थिए । सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड घोटाला प्रकरणमा पक्राउ परेको तामाङ अनुसन्धानको क्रममा हाल हिरासतमा नै रहेका छन् ।