काठमाडौं । सिभिल सहकारीका बचतकर्ताहरुको झण्डै आठ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा गत असोज १८ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर थुनामा राखेको सिभिल बैंकलगायत सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई थुनामुक्त गरेर विदेश भगाउन विभिन्न नामथरका बिचौलियाहरु दिनरात नभनी शक्तिकेन्द्रहरुमा दौडधुुप गरिरहेका छन् । त्यसरी दौडधुप गर्नेहरुमा शाही शासनका मतियार मणि लामादेखि ललिता निवास जग्गा घोटालाका मुख्य नाइके मानिएका मिनबहादुर गुरुङसम्म रहेका छन् । त्यसैगरी अर्का त्यस्तै बिचौलिया महेन्द्र चालिसे पनि प्रलोभनको पोको बोकेर बचतकर्ताहरुलाई दिग्भ्रमित पार्ने कोसिस गरिरहेका छन् ।
सिभिल सहकारीका पीडित बचतकर्ताहरुको नाममा एउटा साझा कम्पनी खोल्ने र त्यसमा सोल्टीमोडको सिभिल सहकारीको भवन र सुन्धारामा रहेको सीटीसी मल पास गरेर हालिदिने प्रस्ताव अर्का घरजग्गा व्यवसायी कालुु गुुरुङले पीडितसमक्ष राखेको उनले आर्थिक दैनिकका प्रतिनिधिलाई बताएका छन् ।
तामाङले सीटीसी मल धितो राखेर कर्मचारी सञ्चय कोषसँग १८ करोड रुपैयाँ कर्जा लिएका छन् र सो भवनमा तामाङका झगडिया अर्का घरजग्गा व्यवसायी लालकाजी गुुरुङको २० प्रतिशत सेयर रहेको छ । तामाङले सुन्धारामा नै रहेको लालकाजी गुुरुङको सिभिल मल निर्माणकै क्रममा ऋण मिलाइदिएबापत आधा सेयर रहेको भनी कम्पनी दर्ता गरेर तामाङले त्यसको आधा दाबी गरेपछि उनीहरुबीच बढेको विवाद अहिले अदालतमा विचाराधीन अवस्थामा रहेको छ । दुई वर्षअघि नै सिभिल मलको मूल्यांकन सात अर्ब रुपैयाँ गरिएको थियो र तामाङले मिलाइदिएबापत त्यसमा आफूले साढे तीन अर्ब रुपैयाँ पाउनुपर्ने दाबी गर्दै आएका छन् भने गुरुङले २५ करोड रुपैयाँ मात्र दिने जवाफ फर्काउँदै आएका छन् ।
सिभिल मलमा त्यसरी गुुरुङलाई झुक्याएर कम्पनी दर्ता गरेर ट्र्यापमा पारेपछि उनलाई भुलाउन तामााङले सीटीसी मलमा दिएको २० प्रतिशत सेयर पनि मुद्दा मामिलामै पुगिसकेको छ । अहिले लालकाजी गुुरुङले तामाङलाई २५ करोड रुपैयाँ दिने र तामाङले सिभिल मलको सेयर फिर्ता गरेर मिलापत्र गर्ने तथा गुरुङले सीटीसी मलको सेयर फिर्ता गरेर मुद्दामामिला फिर्ता गराउने सहमति गराउन बिचौलियाहरु सक्रिय रहेका छन् ।
उता पीडित बचतकर्ताहरुको समूहलाई दिने भनिएको सोल्टीमोडको सिभिल भवन पनि तामाङले राष्ट्रिय सहकारी बैंकमा धितो राखेर १४ करोड रुपैयाँ कर्जा लिएका छन् भने सोही भवन एनआईसी एसिया बैंकमा धितो राखेर छ करोड रुपैयाँ कर्जा लिएका छन् । कालु गुरुङले तामाङको नाममा रहेको सिभिल बैंकको सेयर बिक्री गरेर यी दुई भवनको कर्जा चुक्ता गरी पीडित बचतकर्ताहरुलाई हस्तान्तरण गर्ने प्रस्ताव अघि सारेका छन् ।
सिभिल बैंकमा तामाङको नाउँमा प्रमोटर सेयर २६ लाख ३४ जार ९० कित्ता र साधारण सेयर चार लाख ४८ हजार छ सय कित्ता रहेको छ । यो साताको चलनचल्तीमा उक्त ३० लाख ८३ हजार आठ सय पाँच कित्ता सेयरको प्रतिकित्ता दुई सय ४४ रुपैयाँ दरले पनि ७५ करोड २३ लाख ७५ हजार नौ सय ५२ रुपैयाँ हुन्छ । उक्त सेयर सस्तोमा किन्न पाउँदा बिचौलियाहरुसँग सम्बन्धित लगानीकर्ताहरुले नै किन्ने चाँजोपाँचो पनि मिलाइँदै गरिएको थाहा भएको छ । उक्त सेयर किन्न १० भन्दा बढी व्यक्तिहरुले चासो देखाएका छन् ।
सिभिल सहकारीका पीडित बचतकर्ताहरुलाई पहिला बचत गर्दाजस्तै फेरि मालामाल हुने आश्वासन दिएर तामाङविरुद्धको जाहेरी फिर्ता लिन लगाएर उनलाई प्रहरी हिरासतबाट छुटाउने प्रयोजनका लागि यस्ता प्रस्तावहरु अघि सारिदिएको नहोला भन्न सकिने आधार पनि देखिएको छैन । भारतीय नक्कली मुद्राको कारोबारको जगमा युनिटी इन्टरनेसनल भन्ने नेटवर्किङ संस्था खोलेर दबदबा जमाएको र पछि कारबाहीमा परेका त्यसका सञ्चालकहरुसँग सुरुवाती समयमा नै जोडिएका इच्छाराज तामाङले पछिल्लो समय सिभिल सहकारीमा बचतकर्ताहरुले जम्मा गरेको अर्बो रुपैयाँ कर्जा लिएर घरजग्गा व्यवसायमा लगानी गरेको र उक्त व्यवसायबाट आएको आम्दानी अवैध बाटोबाट बेलारुस पु-याएर लगानी गरेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ । अहिलेको हिरासतबाट उम्किन पाए सुटुक्क बाटो लाग्नेबाहेक तामाङसँग अर्को विकल्प देखिँदैन । किनभने उनले सिभिल सहकारीलाई रकम तिर्नुुपर्ने होइन । हाउजिङ गरेका जग्गाका धनीहरुलाई समेत जग्गाको पैसा तिरेका छैनन् । तीनमध्येका अमृतचरण शाक्य, अमिरबाबुु गुरुङलगायतका जग्गा बिक्रेताहरु पनि रकम उठाइपाऊँ भनी अदालत पुगिसकेका छन् ।
यही मौका पारेर लटरपटर पार्न पाइएला कि भनेर नवधनाड्य बनेका पूर्वकांग्रेसी मणि लामाले पनि सबै मिलाइदिन्छु भनेर पीडितहरुसमक्ष प्रस्ताव लिएर पुुगेका छन् भने महेन्द्र चालिसे पनि त्यस्तै प्रस्ताव बोकेर हिँडेका छन् । उनले इन्भेष्टमेन्ट रिक्स म्यानेजमेन्ट कम्पनीको नाउँमा लगानीको प्रस्ताव गरेका छन् । उक्त कम्पनीमा अमेरिका बस्ने खगेन्द्र जीसी र अष्ट्रेलिया बस्ने सुरेन्द्रमान श्रेष्ठ संलग्न रहेको बताइएको छ । जीसीले प्रहरी प्रधान कार्यालयअगाडि रहेको सुधीर बस्नेतको इम्पेरियल बिल्डिङमा पनि लगानी गर्ने भनी जीसी एण्ड होल्डिङको बोर्ड झुण्डाएका थिए । तर लगानी गर्न नसकेपछि आफैँले उक्त बोर्ड निकालेर फाल्न लगाएका थिए ।
ललिता निवास जग्गा घोटालाका मुख्य नाइके मीनबहादुर गुुरुङले चाहिँ आफ्ना साझेदार कालु गुरुङमार्फत पीडित बचतकर्ताहरुको भावना र इच्छाराज तामाङको सम्पत्तिमा खेलोफड्को गर्न चलखेल गरिरहेका छन् ।
अहिले यसरी विभिन्न खाले बिचौलियाले सिभिल मल सहकारीका पीडित बचतकर्र्ताहरुलाई राहत दिलाउने वा न्याय दिलाउनेभन्दा पनि त्यसको बहानामा इच्छाराजको नामको सेयर र सम्पत्ति कौडीको भाउमा हात पार्नको लागि चलखेल गरिरहेका छन् । त्यस्तो प्रलोभनको हावादारी प्रस्ताव आएको तर आफूलाई त्यसमा रतिभर विस्वास नरहेको कुरा सिभिल सहकारीका पीडित बचतकर्ता उज्वल सत्यालले आर्थिक प्रतिनिधिलाई बताए ।