अमेरिका, माघ १७
अमेरिकी विमान निर्माता कम्पनी बोइङ २० वर्षयता पहिलोपटक घाटामा गएको छ । गत वर्ष दुई विमान एकै प्रकृृतिका दुर्घटनामा परेपछि ७३७ म्याक्स सिरिजका सबै विमान विश्वभर एकैसाथ ग्राउन्डेड गर्नुपरेको कारण कम्पनीले दुई दशकयता पहिलोपटक घाटा व्यहोरेको हो । इन्डोनेसिया र इथियोपियामा भएको म्याक्स विमान दुर्घटनामा ३ सय ४६ जनाले ज्यान गुमाएका थिए ।
सोही कारण ग्राउन्डेड विमानको लागि मात्रै १८ अर्ब अमेरिकी डलर खर्च हुने कम्पनीले अनुमान गरेको छ । यसले कम्पनीलाई वित्तीय घाटा पुगेको छ । कम्पनीका अनुसार सन् २०१९ मा ६३ करोड ६० लाख अमेरिकी डलर घाटा भएको छ । गत वर्षका अन्तिम तीन महिना बिक्रीका हिसाबले खराब भएको पनि कम्पनीले जनाएको छ ।
उक्त अवधिमा कम्पनीले १७ अर्ब ९० करोड डलरको विमान माग पाएको थियो । विश्लेषकहरुले भने उक्त अवधिमा कम्पनीले २१ अर्ब ७० करोड डलरको विमान माग आउने अनुमान गरेका थिए । बोइङमा हाल नेतृत्व समेत फेरिएको छ । डेभिड कलहन बोइङको प्रमुखमा आएका छन् । उनी डेनिस मुलेनबर्गको स्थानमा आएका हुन् । कम्पनीले ग्राउन्डेड विमानलाई पुनः सेवामा फर्काउन दौडधूप गरिरहेको छ ।