बेइजिङ, माघ १७
चीनकै सबैभन्दा धनी व्यवसायी तथा अलिबाबा कम्पनीका संस्थापक ज्याक माले चीनमा फैलिएको कोरोनाभाइरसको महामारी रोक्नका लागि करिब डेढ करोड अमेरिकी डलर सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार माले आफ्नो फाउन्डेसनको माध्यमबाट १ करोड ४४ लाख अमेरिकी डलर कोरोना भाइरसविरुद्ध लड्ने खोप पत्ता लगाउन सहयोग गरेका हुन् । माको फाउन्डेसनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको हो । उनले ५८ लाख डलर दुईवटा चीन सरकारको अनुसन्धान संस्थालाई दिएका छन्। बाँकी रकम भाइरस रोकथाम र उपचारमा खर्च हुने बताइएको छ ।
अलिबाबाले गत शनिबार नै सहयोगको घोषणा गरेको थियो। घोषणामा १ अर्ब चिनियाँ युआन अर्थात् १४ करोड अमेरिकी डलरको कोष स्थापना गर्ने र यसमार्फत वुहान र हुवेई प्रान्तका लागि औषधिजन्य आपूर्ति खरिद गर्ने बताइएको थियो । कम्पनीले निःशुल्क आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटिङ पावर वैज्ञानिक अनुसन्धान संस्थाहरुलाई उपलब्ध गराउने प्रतिबद्धता समेत जनाइसकेको छ । उक्त संस्थाहरुले भाइरस रोकथामको खोप तथा उपचार विधि पत्ता लगाउनेछ ।
चिनियाँ डेलीका अनुसार भाइरसको उपचारमा सघाउने अलिबाबा चिनियाँ प्रविधि कम्पनीहरुमध्ये मुख्य रहेको छ । हुवावे, टेन्सेन्ट, बैदू, टिकटक, मेतुआन डियानपिंगलगायत अन्य कम्पनीहरु पनि चीनका चर्चित कम्पनीहरु हुन् । त्यस्तै अमेरिका र चीनका वैज्ञानिकहरु समेत हाल कोरोनाविरुद्धको खोप पत्ता लगाउन जुटेको बताइएको छ। तर खोप पत्ता लाग्न १ वर्षसम्म समय लाग्नसक्नेछ। भाइरसका कारण हालसम्म १ सय ७० जनाको मृत्यु भइसकेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार नाघिसकेको छ ।