बेइजिङ । चीनका धेरै क्षेत्रहरूले कम्तीमा ३० दिनसम्म प्रसूति विदा विस्तार गर्ने तयारी गरेका छन् । न्यून जन्मदरका कारण देशले जनसांख्यिक संकटको सामना गर्ने देखिएपछि चीनले बालबालिका पालनलाई प्रोत्साहन गर्ने नवीनतम प्रयासस्वरूप प्रसूति विदा विस्तार गर्ने भएको छ । सरकारको यो निर्णयलाई सरकारी कार्यालय, संघ/संस्था तथा निजी संस्थाले पनि प्रोत्साहन गर्ने बताएका छन् ।
यसै वर्ष कडा परिवार नियोजन नियमहरूलाई अन्त्य गर्दै दुईभन्दा बढी बच्चा जन्माउन प्रोत्साहन गर्ने सरकारको नीतिपछि बालबालिकाको हेरचाहलाई सहज बनाउन प्रसूति बिदा विस्तार गर्ने योजना सार्वजनिक भएको हो । तीव्र गतिमा वृद्धि देखिएको वयस्क जनशक्तिका कारण उत्पादन तथा अर्थव्यवस्थामा सुस्तता आएपछि चिनियाँ प्रशासनले युवा जनशक्ति बढाउन विविध प्रयासहरू गरिरहेको अधिकारीहरूले बताएका छन् ।
शुक्रबार बेइजिङ नगर प्रशासनले महिलाहरूले अब यस पहिले लिँदै आएको एक सय २८ दिनको प्रसूति विदामा एक महिना (३० दिन) विदा थप गरी एक सय ५८ दिन विदा पाउने घोषणा गरेको छ । शांघाईको प्रशासनले पनि एक दिनअघि (बिहीबार) यसै प्रावधानलाई कानूनी मान्यता दिने घोषणा गरेको छ । पूर्वी झेजियाङ प्रान्तमा दोस्रो वा तेस्रो बच्चाका आमाहरूले अब जम्मा एक सय ८८ दिन लिन सक्ने बनाइएको सिन्ह्वा न्यूज एजेन्सीको एक समाचारमा उल्लेख गरिएको छ । चालू राष्ट्रिय नियमावलीअनुसार आमाले ९८ दिन पारिश्रमिक पाउने प्रसूति बिदा पाउने व्यवस्था छ ।
यस मुद्दाले अनलाइन छलफललाई व्यापकता दिएको छ । केही विश्लेषकहरूले यो परिवर्तनले कम्पनीहरूलाई महिलाहरूलाई रोजगारी दिनेबारे गम्भीर भएर सोच्न बाध्य पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् । एक जना इन्टरनेट प्रयोगकर्ताले एएफपीसँग भने, ‘प्रशासनको यो निर्णयले महिलाहरूको बेरोजगारी दर अझ बढाउन सक्ने देखिन्छ ।’ अन्य केहीले बेइजिङमा १५ दिनमै पितृत्वको हक किन अपरिवर्तित रह्यो भन्ने पनि प्रश्न गरेका छन् ।
राजधानीमा नयाँ बुबाहरूले आफ्नो साथीको कोटाबाट विदाका दिनहरू लिएर मात्र आफ्नो शिशु स्याहार विदा विस्तार गर्न सक्छन् । त्यस्तै, झेजियाङमा पुरूषलाई शिशु स्याहार विदा १५ दिन र शांघाईमा १० दिन रहेको छ । यो परिवर्तनले उद्यमीहरूले पुरुषहरूलाई महिलाहरूभन्दा बढी मन पराउने अवस्था ल्याउनसक्ने टिप्पणी इन्टरनेटको सक्रिय प्रयोग गर्ने एक अर्का व्यक्तिले बताए । चीनले सन् २०१६ मा विश्वकै सबैभन्दा कडा पारिवार नियोजन नियमावलीमध्येको एक ‘एक बाल नीति’ लाई अन्त्य गर्दै चिनियाँ दम्पतीलाई दुई सन्तान जन्माउने अनुमति दिएको थियो ।
सरकारले सन्तान जन्माउनसक्ने प्रावधानलाई थप लचिलो पार्दै यो वर्षको सुरुतिर एक दम्पत्तीले तीन बच्चासम्म जन्माउनसक्ने बनाएको थियो । गत वर्ष प्रति एक हजार चिनियाँबाट करिब नौ बच्चा जन्मिएको रेकर्ड गरिएको थियो । यो सन् १९७८ मा वार्षिक तथ्यांक सुरु भएदेखिको सबैभन्दा कम हो ।