काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर १३ गते अर्थात् आज सोमबार पुनः नौ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यस दिन अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही मंसिर ६ गते पनि राष्ट्र बैंकले झण्डै १५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति मंसिर १४ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्येमा ९१ दिने अवधिको तीन अर्ब १३ करोड र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७८ फागुन १७ गते र २०७९ जेठ १७ गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार बिक्री हुने उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गत हो ।
यसअघि गत साता अर्थात् यही मंसिर ६ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब ३२ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको ११ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।