भक्तपुर । जिल्ला अदालत भक्तपुरले नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरका तत्कालीन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेविरुद्ध परेको सरकारवादी ठगी मुुद्दामा बहसनोटको आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश कमला पौडेलले आइतबारको बहसपछि २१ दिनभित्र बहसको लिखित नोट पेस गर्न मुद्दाका पक्षविपक्ष दुवैलाई आदेश दिएको हो । बिहीबारदेखिको निरन्तरको मौखिक बहसको नोट लिखित रूपमा बुझाउन अदालतले आदेश जारी दिएको हो ।
आदेशअनुसार अब मुुद्दाको पक्षकोतर्फबाट सरकारी वकिलको कार्यालयका वकिल नवराज पराजुलीले बहसनोट दिनेछन् । विपक्षको तर्फबाट टंक दुलालले लिखित नोट पेस गर्नेछन् । आइतबारको बहसमा जाहेरिवालाको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, तथा अधिवक्ताहरू डा. नरेश महर्जन, युवराज बन्जाडे, सार्दुल थापालगायतले बहस गरेका थिए । विपक्षको तर्फबाट टंक दुलाल र सुदीप अधिकारी समेतले बहस गरेका थिए । तत्कालीन कलेज सञ्चालक समितिका अध्यक्ष न्यौपानेले मनोमानी ढंगले कलेजको सम्पत्ति ठगी गरेको आरोप उनीमाथि छ । उनीमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी मुुद्दाको रूपमा जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेको थियो । २३ करोडभन्दा बढी सम्पत्ति अपचलन गरेको देखिएपछि उनीविरुद्ध सीआईबीले भक्तपुर जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । यसअघि कलेजमा चरम आर्थिक हिनामिनाको सम्बन्धमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरेको थियो । त्यस क्रममा ठगी भेटिएपछि सीईबीले मुद्दा दायर गरेको थियो ।
यसैगरी लम्बोदरलाई उन्मुक्ति नदिन आइतबार पनि जिल्ला अदालत भक्तपुरअगाडि प्रदर्शन गरिएको छ । कलेजका विद्यार्थीसहित स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, स्थानीयवासी स्वतस्फुर्त सहभागिता जनाई प्रदर्शन गरेका थिए । कलेज सञ्चालक समितिका सदस्य सोम प्रधानले नाफा नलिने उद्देश्यका साथ नाफारहित रूपमा सञ्चालित कलेजलाई निजी बनाउने प्रयास गर्नुका साथै कलेजको सम्पत्ति अपचलन गरेको पाइएकाले यस्ता व्यक्तिमाथि कारबाही गर्न दबाब दिन प्रदर्शन गरेको जनाए । कलेजलाई पनि दबाब दिई चलखेल हुनेगरेको सम्झँदै उनले कलेजलाई कुनै हालतमा निजी बनाउनेविरुद्ध जुनैसुकै अवस्थामा लड्ने प्रतिबद्धता जनाए ।
कलेज सञ्चालक समिति अर्का सदस्य नरेश खड्काले कलेजलाई निजीकरण गर्न नदिन स्थानीयवासी निरन्तर लडिरहेको सम्झे । अहिले पनि कहिँकतैबाट षड्यन्त्र गरी कलेजलाई निजी बनाउने दुष्प्रयास गरे सारा स्थानीयवासी एकजुट भई संघर्ष गर्ने घोषणा उनले गरे । उनले कलेजलाई निजी बनाउन कुनै तत्वलाई कुनै हालतमा सफल हुन नदिने बताए ।