लण्डन । ब्रिटिश एयरवेजले हङकङ उडान निलम्बन गरेको छ । हङकङ सरकारले चालकदलका सदस्यलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएकोले उडान नै निलम्बन गर्नुपरेको बीबीसीले उल्लेख गरेको छ ।
एयरवेजले यसलाई अस्थायी समयका लागि भनेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार भने एयरवेजका एक कर्मचारीमा कोभिड पोजिटिभ देखिएपछि सबैजसो चालक दलका सदस्यलाई पनि सरकारी क्वारेन्टाइन केन्द्रमा पठाइएको थियो ।
यसअघि पनि एक हप्ताअघि यस्तो घटना भएको थियो । त्यतिबेला अर्थात् २० नोभेम्बरमा बीएका पाइलटको पोजिटिभ रिपोर्ट आएको थियो । त्यतिबेला चालक दलका सदस्यहरुलाई हङकङको पेन्नी बे क्वारेन्टाइन सेन्टरमा राखिएको थियो ।
हङकङको स्वास्थ्य विभागका प्रवक्ताका अनुसार उनीहरु सबै बेलायत फर्केका थिए । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबारे सार्वजनिक भइरहँदा बीएले उडान निलम्बनको घोषणा गरेको हो । नयाँ भेरिएन्ट पनि दक्षिण अफ्रिकाबाहेक अरु देशमा पनि धमाधम देखिनथालेको छ ।