काठमाडौं । ज्योति विकास बैंकले चन्द्रागिरि नगरपालिका वडा ६ काठमाडौँस्थित मातातीर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरूलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरू सहयोग गरेको छ ।
आश्रममा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य, काठमाडौँ उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिपराज बराल र बैंकका बलम्बु शाखाका शाखा प्रबन्धक प्रकाश श्रेष्ठद्वारा वृद्धाश्रम समितिका कार्यालय प्रमुख राम थापालाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवद्र्धन कोषमार्फत आश्रममा आश्रित वृद्धाका लागि बढ्दै गएको चिसो मौसमको लागि उपयुक्त न्यानो कपडा सहयोग गरेको हो ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ । बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा २१ करोड ७८ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाइसकेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले १३ करोड १५ लाख २३ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी तीन अर्ब ८४ करोड ४८ लाख २२ हजार रुपैयाँ रहेको ज्योतिले चालू आवको पहिलो त्रैमासमा ४८ अर्ब ८२ करोड १२ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ५५ करोड ६० लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ५० करोड ४० लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस अवधिमा बैंकमा शून्य दशमलव ६८ प्रतिशत मात्र कर्जा निष्क्रिय रहेको छ ।