ढाका । एसियाली विकास बैंकले बंगलादेशलाई १५ करोड ऋण सहायता प्रदान गर्ने भएको छ । एडीबीले घरेलु तथा साना उद्यमलाई लगानी गरी रोजगारी सिर्जना गर्न उक्त सहयोग प्रदान गरिएको द डेली स्टार अनलाइनले जनाएको छ ।
एडीबीले दिने उक्त सहयोग बंगलादेश बैंकले पाउनेछ । केन्द्रीय बैंकले त्यसलाई वित्तीय संस्थाहरुलाई सापटीस्वरुप प्रदान गर्नेछ भने उक्त रकमले ३० हजार उद्यम प्रभावित हुने बताइएको छ । यो परियोजनाअनुसार कम्तीमा पनि ४५ हजार जनाले सन् २०२५ को डिसेम्बरसम्म रोजगारी पाउनेछन् । उक्त रकमको २० प्रतिशत भने महिला सञ्चालित व्यवसायले पाउनेछन् ।
कोरोना महामारीको चपेटामा परेका यी उद्यमलाई एडीबीको ऋण सहायताले सहयोग गर्नेछ । कोरोनाको असरलाई न्यूनीकरण गर्न ‘सपोर्टिङ पोस्ट कोभिड १९ स्मल स्केल इम्प्लोयमेन्ट क्रिएसन परियोजनाअन्तर्गत उपलब्ध गराइएको हो । युवा, ग्रामीण क्षेत्रका उद्यमी, प्रवासबाट फर्किएका कामदार/महिलालगायतले सञ्चालन गरेको व्यवसायलाई यो सहयोग रकम खर्च हुनेछ ।