नयाँ दिल्ली । भारतले १४ देश छोडेर अन्यत्र नियमित उडान पुनः सुरु गर्ने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार डिसेम्बर १५ बाट भारतले झण्डै २० महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्नलागेको हो ।
स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि १४ देशहरु बेलायत, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, फिनल्यान्ड, दक्षिण अफ्रिका, ब्राजिल, बंगलादेश, बोत्स्वाना, चाइना, मौरिसस, न्युजिल्यान्ड, जिम्बाबे र सिंगापुर छोडेर नियमित उडान खोल्ने निर्णय सरकारले गरेको बताइएको छ ।
कोरोनाको अर्को लहरको जोखिम र ती देशमा रहेको कोरोना संक्रमित संख्या हेरेर १४ देशलाई छोडिएको हो । दक्षिण अफ्रिकामा भर्खरै फेरि नयाँ भेरिएन्ट देखापरेको छ भने बोत्स्वानामा त्यही भेरिएन्टको कोरोना भाइरस देखिएको छ। युरोपेली देशमा समेत चौथो लहर देखिनथालेको छ ।
यसैलाई मध्यनजर गरी १४ देशमा नियमित उडान नगरिने भारत सरकारले जनाएको छ । धेरै देशमा भारतले एयर बबल (दुई देशीय उडानमात्र) सम्झौता गरेको छ। अहिलेसम्म अफगानिस्तान, बहरेन, बंगलादेश, भुटान, क्यानडा, इथियोपिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इराक, जापान, केन्या, कुवेत, माल्दिभ्स, मौरिसस, नेपाल, नेदरल्यान्ड्स, नाइजेरिया, ओमान, कतार, रुस, रुवान्डा, सिसिलिज, सिंगापुर, श्रीलंका, तान्जानिया, युक्रेन, यूएई, यूके, यूएसए र उज्बेकिस्तानसँग यस्तो सम्झौता छ ।