काठमाडौं । मेट लाइफ नेपालले लघु बीमादाबीका लागि नयाँ दाबी व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ । यस प्रणालीले ग्राहकहरूलाई छिटो भुक्तानी गर्न म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गर्नेछ । नयाँ प्रणालीमा दाबी आवश्यकता र डिस्चार्ज भौचरहरूका लागि स्वचालित इमेलहरूको व्यवस्थाका साथसाथै दाबी पेस गर्न र भुक्तानीको समयलाई घटाउनका लागि स्वचालित दाबी मूल्यांकनजस्ता सुविधाहरू समावेश गरिएको कम्पनीले जानकारी दिएको छ ।
मेट लाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठका अनुसार मेट लाइफ आफ्ना ग्राहकहरूको थप आत्मविश्वासी भविष्य निर्माणमा मदत गर्न प्रतिबद्ध छ । साथै उनले द्रुतदाबी समाधान नै लघुबीमा ग्राहकहरूको प्राथमिकता रहेको र यसका लागि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न मेट लाइफको नयाँ दाबी व्यवस्थापन प्रणाली कोशेढुंगा साबित हने बताए ।
लघुबीमामार्फत सेवाविहीन समुदायलाई वित्तीय सुरक्षा प्रदान गर्न मेट लाइफ सन् २००९ मा लघवित्त संस्थाहरूसँग साझेदारी गर्ने नेपालको पहिलो बीमा कम्पनी हो । कम्पनीको ग्रामीण कर्जा बीमाले देशका ७७ जिल्लाभरिका लघुवित्त संस्था तथा सहकारीका ऋणीहरूलाई बीमा सुरक्षा प्रदान गर्दै आएको छ । ऋणीहरूको कर्जा चुक्ता क्षमातालाई प्रभाव पार्न सक्ने अप्रत्यासित घटनाहरूबाट जोगाउन बीमाले ऋणीहरूको बाँकी रहेको कर्जा चुक्ता गरी निजहरूको परिवारलाई थप आर्थिक सहयोग प्रदान गर्दछ ।
सन् २००९ भन्दा पहिले लघुवित्त संस्थाका ऋणीहरूको बीमा सुरक्षामा पहुँचका लागि कुनै औपचारिक माध्यम थिएन । मेट लाइफले स्वरोजगार र गरिबी निवारणमा सहयोग गर्ने उद्देश्यका साथ लघुवित्त उद्योगका विज्ञहरूसँग परामर्श गरी नेपालमा लघु बीमा योजना सुरु गरेको थियो । तत्पश्चात् मेट लाइफले यसको नियमित समीक्षा गरी प्रक्रियालाई सरल बनाउँदै, योजनाहरूको विकास र परिमार्जन गर्दै यसलाई अझ बढी ग्राहक केन्द्रित बनाउँदै आएको छ । मेट लाइफले हाल २४ लघुवित्त संस्थाहरूसँग साझेदार गरी आठ लाख ऋणीहरूको बीमा गरेको छ । हालसम्म कम्पनीले करिब २४ हजार दाबीहरूबापत एक अर्ब ३० करोड रुपैयाँ भुक्तान गरिसकेको छ ।
मेट लाइफ नेपालका सहायक उपाध्यक्ष तथा प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतको अनुसार यस प्रणालीको सुरुवातले दाबीहरूको प्रशोधन समय उल्लेख्य रूपमा घटाउन मदत गर्नेछ किनकि यसमा दाबी सारांश तयारी, डिस्चार्ज भौचर तयारी र स्वीकृतिका लागि हातबाटै तथ्यांक भर्न र प्रशोधन गर्न आवश्यक पर्दैन । यसले लघु ग्राहकहरूलाई उनीहरूको कठिन समयमा राहत दिनको लागि छिटो भुक्तानी प्रेषण गर्न सक्षम गराउँछ । साथै उनले आफ्ना लघु ग्राहकहरूलाई समयमै सेवा प्रदान गर्न प्रणालीलाई सुधार गर्दै डिजिटल सेवामा लैजान निरन्तर काम गर्ने बताए ।
मेट लाइफ नेपालको बारेमा : मेट लाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेट लाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेट लाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।
मेट लाइफको बारेमा : मेट लाइफ इन्क आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरूलाई सहज रूपमा अघि बढ्न विभिन्न बीमा योजनाहरू, वार्षिक योजनाहरू, कर्मचारी लाभ योजनाहरू तथा सम्पत्ति व्यवस्थापन योजनाहरू प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरूमध्ये एक हो । सन् १८६८ मा स्थापित मेट लाइफ संसारभरि ४० भन्दा बढी बजारहरूमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिय, युरोप तथा मध्य–एसियामा अब्बल स्थानमा रहेको छ ।