लन्डन । युरोपसहित विश्व सेयरबजारमा कोरोना भाइरसको नयाँ भेरिएन्टको असर देखिएको छ । खोप निर्माता कम्पनी मोडर्नाका मालिकले यस भेरिएन्टविरुद्ध खोपकै प्रभावकारितामा शंका गरेपछि बजार ओरालो लागेको हो ।
मोडर्ना सीईओ स्टेफेन बान्सेलले फाइनान्सियल टाइम्ससँग खोप प्रभावकारिताामा शंका गरेका थिए । यो भेरिएन्ट सर्वप्रथम दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । अहिलेसम्म यसका सामान्य लक्षण नै देखिएको छ । तर बेलायत, युरोप र अमेरिकामा यात्रा प्रतिबन्धजस्ता रोकथामका उपाय अपनाउन पनि सुरु गरिएको छ ।
बान्सेलका अनुसार अहिले अस्तित्वमा रहेका खोपहरु ओमिक्रोनविरुद्ध कम असरदार हुनेछन् । यसविरुद्ध प्रभावकारी बनाउन औषधि कम्पनीहरुलाई खोप अपडेट गर्न महिनौँ लाग्नसक्नेछ ।
योसँगै बेलायती सेयरबजार एफटीएसई१००, जर्मनीको डीएएक्स र फ्रान्सको सीएसी ४० १.५ प्रतिशतभन्दा धेरैले घटेका छन् । त्यस्तै पान–युरोपियन स्टोक्स ६०० पनि १.५ प्रतिशतले घटेर सात हप्तायताकै न्यून विन्दुमा आइपुगेको छ । यद्यपि कारोबार समयमा पछि फेरि बजार फर्किएको बीबीसीले उल्लेख गरेको छ ।
यता टोक्योको निकी इन्डेक्स १.६ प्रतिशतले घटेर बन्द भएको छ । त्यस्तै दक्षिण कोरियाको कोस्पी २.४ प्रतिशतले झरेको छ भने हङकङको हांगसेंग इन्डेक्स १.६ प्रतिशतले घटेको छ । चीनको शांघाई कम्पोसाइट स्थिर रहेको छ ।
अमेरिकी सेयरबजार पनि ओरालो लागेको थियो । सोमबारको कारोबारमा फेरि ‘रिबाउन्ड’ भएको सीएनएनले जनाएको छ । फेरि सूचकहरु रातो देखिने संकेत देखिएका छन् । सीएनएनका अनुसार पछिल्लोपटक डो फ्युचर १ प्रतिशतले, एसएन्डपी ५०० फ्युचर शून्य दशमलव आठ प्रतिशतले नास्डाक फ्युचर शून्य दशमलव चार प्रतिशतले घटेको छ ।
सेयरबजारमात्र नभई कच्चा तेलको मूल्य पनि दुई प्रतिशतले घटेको छ । ब्रेन्ट क्रुड र वेस्ट टेक्सस इन्टरमेडिएट दुवै उक्त दरले घटेको सीएनएनले जनाएको छ । दुवै कच्चा तेल प्रतिब्यारेल क्रमशः ७२ र ६९ अमेरिकी डलरमा झरेका छन् । अस्ट्रेलियाली डलर एक वर्षयताकै तल्लो विन्दुमा पुगेको बताइएको छ । सुरक्षित मानिएका सुन, जर्मन सरकारी ऋणपत्र र जापानी मुद्रा येनमा पनि अनिश्चितता छाएको छ ।
नयाँ भेरिएन्ट पत्ता लागेका समाचारसँगै शुक्रबार नै बजार झर्न थालिसकेको थियो । डब्लुएचओले ओमिक्रोनको संक्रामक क्षमताबारे एकीन हुन हप्तौँ लाग्ने बताएको छ । यो भेरिएन्ट विश्वका झण्डै दर्जन देशमा देखापरिसकेको छ ।