काठमाडौं । प्रत्येक महिना नेपालको वैदेशिक व्यापारघाटा बढ्दै गएको छ । चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा मात्र नेपालले चार खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापारघाटा व्यहोरेको छ । यसलाई केही हदसम्म भए पनि कम गर्नको लागि अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अत्यावश्यक वस्तुबाहेकका वस्तु तथा सेवा आयातमा कडाइ गर्ने बताउँदै आएका थिए ।
सोहीअनुरुप नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई कार्यान्वयनमा ल्याउने क्रममा वस्तुु तथा सेवा आयातलाई कम गर्न उद्देश्यअनुरुप यसको लागि न्यूनतम सीमा तोकिदिएको छ । राष्ट्र बैंकले सोमबार विदेशी मुद्राको कारोबार गर्ने बैंक तथा वित्तीय संस्था एवं अन्य निकाय समेतको नाउँमा परिपत्र जारी गर्दै वस्तु तथा सेवा आयात गर्ने अधिकतम सीमा एक लाख अमेरिकी डलरलाई संशोधन गर्दै एकपटकमा अधिकतम ५० हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्र आयात गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
यसैगरी एकीकृत परिपत्र २०७६ पनि संशोधन गर्दै सुनचाँदीको कारोबार तथा आायात निर्यात गर्न विधिवत् दर्ता भएका अथवा इजाजत लिएका नेपाल सुनचाँदी व्यवसायीले खुला बजार आयात इजाजत (ओजीएल) व्यवस्थाअनुरुप बैंक ग्यारेन्टी, प्रतीतपत्र र स्ट्यान्ड बाई प्रतीतपत्रको माध्यमबाट प्रचलित व्यवस्थाबमोजिम चाँँदी आयात गर्नसक्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ । परिपत्रअनुसार यसरी आयात गरिएको चाँदी व्यवसायी स्वयंले गरगहना बनाई बिक्री गर्न, हस्तकलालगायतका सामान बनाई बिक्री गर्न वा त्यस्तो बनाउने व्यवसायीलाई बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनको लागि मात्र गर्नुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार बैंकहरुले आयात गर्ने चाँदी र सोको मूल्य निर्धारणका सम्बन्धमा भने वाणिज्य बैंकहरुले साना सुनचाँदी व्यवसायीलाई मात्र बिक्री गर्ने प्रयोजनका लागि खुला बजार आयात इजाजत (ओजीएल) व्यवस्थाअनुरुप बैंक ग्यारेन्टी प्रतीतपत्र र स्ट्यान्ड बाई प्रतीतपत्रको माध्यमबाट प्रचलित व्यवस्थाबमोजिम चाँदी आयात गर्न सक्नेछन् । यसरी आयात गरिएको चाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय मूल्य र आयात गर्दा लाग्ने लागत समेतलाई दृष्टिगत गरी प्रतिस्पर्धी मूल्यमा गर्नुपर्नेछ । चाँदी आयातको भुक्तानी सीमाको हकमा भने चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ३५ हजार वा सोबराबरको परिवत्र्य विदेशी मुद्राको सीमासम्म मात्र सटही सुविधा प्रदान गर्न सकिनेछ ।
परिपत्रअनुसार व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा विदेशी संस्थाबाट नेपालमा विदेशी ऋण भित्र्याउने प्रयोजनको लागि वाणिज्य बैैंकहरुले विदेशी मुद्राको बैंक ग्यारेन्टी वा स्ट्याण्ड बाई प्रतीतपत्र जारी गर्न सक्नेछन् । यसरी जारी भएको ग्यारेन्टी वा प्रतीतपत्र ऋणको बक्यौता सावाँ र अवधिसम्म मात्र कायम रहनुुपर्नेछ । विदेशी ऋणसम्बन्धी अन्य व्यवस्थाहरु नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ बमोजिम हुने परिपत्रमा उल्लेख छ ।
यसैगरी राष्ट्र बैंकले वाणिज्य बैंकहरुको हकमा परिवत्र्य विदेशी मुद्रामा मुद्दती निक्षेप संकलन र परिचालन गर्नसक्ने समेतको व्यवस्था कार्यान्वयनमा ल्याएको छ । यसको लागि विदेशी मुद्रा निक्षेपको अवधि कम्तीमा एक वर्षको हुुनुपर्ने, यसप्रकारको खाता अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापनिज येन र चिनियाँ युआनमा मात्र खोल्ने सकिने शर्तहरु तोकिएका छन् । यस्तो खातामा मुद्दती निक्षेपमा पाकेको ब्याज सम्बन्धित वाणिज्य बैंकहरुको नियमअनुसार प्रदान गर्नुपर्नेछ । तर एक वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेप एक वर्ष अवधि व्यतित भए पनि निक्षेपकर्ताहरुले प्रि म्याचुअर गर्न चाहेमा प्रि म्याचुअर गरी फिर्ता गर्न सकिनेछ ।
राष्ट्र बैंकका अनुसार मुद्दती निक्षेपमा बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्नुपर्नेछ । उक्त रकम फिर्ता गर्नुुपरेको खण्डमा समेत बैंकिङ प्रणालीमार्फत नै फिर्ता गर्नुपर्नेछ । संस्थागत विदेशी निक्षेपकर्ता तथा गैरआवासीय नेपालीहरुबाट न्यूनतम पाँच हजार डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा निक्षेप संकलन गर्न सकिनेछ । यसरी खाता खोल्दा तथा सञ्चालन गर्दा प्रचलित कानुनबमोजिम ग्राहक पहिचान हुने व्यवस्था मिलाउनुपर्नेछ । यसरी खाता खोल्दा तथा ग्राहक पहिचान गर्दा विद्युतीय माध्यमबाट समेत गर्न सकिनेछ । वाणिज्य बैंकहरुले परिवत्र्य विदेशी मुद्रामा बचत निक्षेप संकलन तथा परिचालनको लागि आधा दर्जन शर्तहरु तोकेको छ ।
यसअन्तर्गत यस्तो निक्षेप खाता गैरआवासीय नेपाल तथा गैरआवासीय नेपालीबाट प्रवद्र्धित विदेशस्थित संस्थाको मात्र खोल्न र सञ्चालन गर्न सकिनेछ भने गैरआवासीय नेपालीको नाममा संयुक्तरुपमा समेत यस प्रकारको खाता खोल्न सकिनेछ । गैरआवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि लिनुपर्नेछ ।
गैरआवासीय नेपालीबाट प्रवद्र्धित विदेशस्थित संस्थाको खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समेत लिनुपर्नेछ । यसप्रकारको खाता परिवत्र्य विदेशी मुद्रामा खोल्न सकिनेछ ।
राष्ट्र बैंकका अनुसार यसप्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको उपयुक्त परिवत्र्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम गर्नुपर्नेछ । यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्नुपर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ । तर यस्तो खाता खर्च गरी नेपाली रुपैयाँमा भुक्तानी वा ट्रान्सफर गर्न भने यो व्यवस्थाले बाधा नर्पाने परिपत्रमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार यस्तो निक्षेप खातामा बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्नुपर्नेछ । उक्त रकम फिर्ता गर्नुपरेको खण्डमा समेत बैंकिङ प्रणालीमार्फत नै फिर्ता गर्नुपर्नेछ ।